ओली र दाहालबीच पार्टी एकताको विषयमा बैठक बस्दै, एमाले स्थायी समिति पनि बस्ने

२० बैशाख २०७५, बिहीबार ०५:४२

वैशाख २०, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने बताइएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधवार एकताको वारेमा सचिवालय बैठकमा ब्रिफिङ गर्दै उनले वैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने जानकारी दिएका थिए ।

एकतालाई अन्तिम रुप दिन दुई नेताबीच आज बैठक हुने बताइएको छ । आजै एमाले स्थायी समितिको बैठक बस्दैछ । बैठकमा माओवादी केन्द्रसँगको एकताका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीको ब्यस्तताले गर्दा बुधबार साँझ डाकिएको स्थायी समितिको बैठक बस्ने नसकेपछि आज बैठक बस्ने बताइएको छ ।

केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले भने ‘प्रधानमन्त्री गृहजिल्ला झापाबाट ढिलो आउनुभएको र थकाइमा रहनुभएका कारण बिहीबार बस्ने गरी बैठक स्थगित भएको हो, आज बैठक बस्छ ।’

माओवादी केन्द्रले बुधबार केन्द्रीय सचिवालय बैठकमा एकताबारे छलफल गरेको थियो । बैठकमा प्रचण्डले एकता अन्तिम विन्दुमा पुगेको र सांगठनिक व्यवस्थापनमा मात्र सहमति वाँकी रहेको बताएका छन् । एकतासँग जोडिएका एजेण्डा करिब टुंगो लागिसकेकाले दुई नेताबीच एकता घोषणासभाको मितिलगायतमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

वैशाख ९ गते गतकम्युनिष्ट पार्टी स्थापना दिवशका दिन हुने भनिएको एकता धकेलिएपछि दुई नेताले त्यसयता पाँचपटक निरन्तर छलफल गरिरहेका थिए । अध्यक्ष प्रचण्डले पार्टी एकतासम्बन्धी छलफल सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिँदै बिहीबारको वार्ताबाटै निष्कर्ष आउने बुधबार बताएका थिए ।
उनले वैशाख २२ मा कार्ल माक्सको द्विशतवार्षिकीको कार्यक्रममा एकताको मिति घोषणा हुन सक्ने जानकारी दिएका थिए ।