‘२०६४ माघअघिका सम्पत्ति शुद्धीकरणमा मुद्दामा कारबाही गर्न मिलेन’ : विशेष अदालतको फैसला

२८ चैत्र २०७४, बुधबार ०३:३७

चैत २८, काठमाडौं ।

विशेष अदालतले २०६४ माघअघिका सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपितलाई कसुरदार ठहर्‍याउन नसकिने फैसला गरेको छ । कानुन निर्माण हुनुभन्दाअघि सोही अभियोगमा आरोपितलाई फौजदारी अभियोग प्रमाणित गर्न नसकिने अदालतले ठहर्‍याएको हो ।

विवादास्पद छविका दीपक मनाङे र उनकी पत्नी पासाङ डोमा गुरुङलाई प्रतिवादी बनाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दायर गरेको सम्पत्ति शुद्धीकरण अभियोगको मुद्दामा विशेष अदालतले यस्तो व्याख्या गरेको हो ।

तत्कालीन अध्यक्ष पवनकुमार शर्मा, सदस्यद्वय बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले गरेको फैसलाको पूर्णपाठमा कानुन जारी हुनुभन्दा पहिलेको कसुरमा दण्डित गर्न नसकिने राय सुनाइएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मनाङ्गेकी पत्नी पासाङ डोमा गुरुङले २०६४ सालभन्दा पहिले नै उनका पति दीपकले आपराधिक क्रियाकलापबाट आर्जन गरेको धन राखेर सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाएको थियो ।

विशेष अदालतले भने ऐन जारी भएको मिति २०६४ माघ १४ गतेभन्दा अघि शुद्धीकरण गरेको भनी लगाइएको आरोपलाई तत्कालीन अवस्थामा कसुर मानिने कानुनी व्यवस्था नै नरहेको भन्दै सफाइ दिएको हो ।