स्वास्थ्य चौकीमा औषधी अभाव : एक चक्की सिटामोलको सात रुपैँया तिर्न बाध्य

१६ बैशाख २०७५, आईतवार ०६:०९

वैशाख १६, काठमाडौं

स्वास्थ्य चौकीमा औषधि अभावका कारण दुर्गमका बिरामी समस्यामा परेका छन् । स्वास्थ्य चौकीले सिटामोलसमेत उपलब्ध गराउन नस्कँदा दहबगड, काँडा, भामचौर, गडराय, धमेनालगायतका दजनौँ स्वास्थ्य चौकीमा उपचार लिन आउने बिरामी समस्यामा परेका छन् ।

“ज्वरो आउन थालेको तीन दिन भयो, शुरुमा सामान्य रुघाखोकी होला भनेर उपचार गरिएन, पछि ज्वरो बढ्दै गए, स्वास्थ्य चौकीमा उपचारका लागि पुगे, चौकीका डाक्टर ९ अहेबले एक चक्की सिटामोल छैन, किनेर लिनु भनेर सिलिप लेखी दिएपछि एक चक्की सिटामोलको रु सातका दरले किनेर औषधि खाए,” दहबगरका उकेश बोहराले बताए ।

उनले भने, “बिरामीले चौकीबाट वर्षको एक दुई महिनाबाहेक अरु समयमा कहिल्यै औषधि पाउँदैनन्, अरु समयमा सधैँ किनेर लिनुपर्छ ।”

“सरकारले ४० प्रकारका औषधि निःशुल्क दिने भनेको छ तर हामीले निःशुल्करुपमा पाइने सिटामोललाई पनि रु सातमा किन्नुपरेको छ, जनताको मर्का कसले बुझ्ने, नकिनु भने मरियाला भने डर किनेर खाउ भने नसोचेको मूल्य तिनुपर्ने हुन्छ,” उकेश बोहराले भने, “सदरमुकाम पुग्न यहाँका बिरामीलाई हिँडेर पूरै दुई दिन लाग्छ ।”

स्वास्थ्य चौकीमा आफू बिरामी परेमा चेकजाँच गराउने मात्र हो । उपचारका लागि सबै औषधि महँगो मूल्यमा स्वास्थ्य चौकी इञ्चार्ज र सहायकको निजी मेडिकलबाट नगदमा भए लेखेको मूल्यभन्दा पाँच गुणा महँगो र उधारो भए दैनिकी ब्याजमा गाउँलेले लिने गरेको दुर्गाथली गाउँपालिका–१ करन विकले बताए ।

उनले भने, “दुई दिनअघि सैनपसेला स्वास्थ्य चौकीमा भाउजुको उपचार गराउन गए, पखाला लागेकाले अन्य औषधिसँगै जीवनजल लिए, एक पाकेटको रु ४० लियो, जाने बुझेकालाई गोप्यरुपमा चौकी इञ्चार्जले औषधि दिन्छ ।”

जिल्लाबाट औषधि आउन छोड्यो । नगरपालिकाले औषधिको खरिदका लागि बजेट पठाएको भन्ने जानकारी आएको भए पनि वडा कार्यालयले औषधि खरिद गरेको छैन । स्वास्थ्य चौकीमा औषधि मौज्दात नभएकाले बिरामीलाई औषधिको सिलिप लेखेर दिने गरेको दहबगड स्वास्थ्य चौकीका अहेव वीरबहादुर धामीले बताए ।

उनले भने, “मौसम परिर्वतन भएसँगै अहिले झाडापखाला, ज्वरो, विषमज्वरोका बिरामी बढी आउने गरेका छन्, गाउँ दुर्गम छ ठाउँ दुर्गम छ राज्यको आँखा पुगेको छैन, अहिले स्वास्थ्य चौकी औषधिविहीन भएको छ, बिरामीले औषधि खोज्ने गर्छन्, हामीले दिन सकेका छैन, कतिले त गाली गर्ने झगडा गरेर जाने गरेका छन् ।”

राज्यले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि र स्वास्थ्य चौकीलाई ४० प्रकारको औषधि दिने गरेको छ । अहिले गाउँपालिका र नगरपालिकाले आफैँले औषधि खरिद गर्ने राज्यले नियम बनाएपछि जिल्लास्थित एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४५ स्वास्थ्य चौकी सबै औषधिविहीन भएको जिल्ला अस्पतालका प्रमुख डा अनुप रेग्मीले बताए ।

उनले भने, “औषधिको मूल्य लेखेको हुन्छ, त्योभन्दा बढीमा बिक्री गर्न पाइँदैन, औषधि अभाव जिल्ला अस्पतालमा पनि छ ।”