सिन्धुपाल्चोक जिप दुर्घटनामा ३ जनाको मृत्यु

२६ चैत्र २०७४, सोमबार १०:११

चैत २६, काठमाडौं ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोड भन्ने ठाउँमा जिप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।

मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेको बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडकबाट करिब ३५० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा चालक अन्दाजी ३५ वर्षीय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षीय मोती अधिकारी र १२ वर्षी कमल स्यङ्बोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिए ।

दुर्घटनामा सहचालकको मृत्यु

त्यस्तै सिन्धुपाल्चोककै हेलम्बु गाउँपालिका एक तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

काठमाडौंबाट हेलम्बुको तिम्बुका लागि छुटेको ६३६५ नम्बरको बस गएराति साढे १० बजेतिर बसपार्क तिम्बु नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सहचालक इन्द्रावती गाउँपालिका बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यु भएको हो । बसमा सवार चारजना घाइते छन् । उनीहरुलाई उपचारका लागि राति नै काभ्रेको धुलीखेल अस्पताल पठाइएको छ ।