सत्यमोहन जोशीलाई महानगरले गाडी र सुरक्षा सुविधा दिने

१९ चैत्र २०७४, सोमबार ०९:०७

चैत १९, काठमाडौं ।

संस्कृतिविद सत्यमोहन जोशीलाई ललितपुर महानगरपालिकाले गाडी र सुरक्षा सुविधा दिने भएको छ ।

महानगरपालिकाले संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय रहेका जोशीलाई पछिल्लो समयमा सवारी नहुँदा भएको असहजतालाई ध्यानमा राखेर यस्तो सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

 

आगामी वैशाख ३० गते ९९ औं जन्मदिन मनाउने तयारी हुँदै गर्दा जोशीलाई मेयर चिरीबाबु महर्जनको प्रस्तावमा यस्तो सुविधा दिन लागिएको हो ।

 

महानगरपालिकाका प्रवक्ता राजु महर्जनकाअनुसार उनलाई एउटा गाडी, चालक र एक सुरक्षा गार्ड उपलब्ध गराउन लागिएको बताए । आज पाटनढोकामा एक कार्यक्रमकाबीच जोशीलाई सेवा हस्तान्तरण गर्ने कार्यक्रम छ ।

 

‘उहाँ अझै पनि संस्कृति र सम्पदाहरुको खोज, संरक्षण र प्रवर्द्धनमा क्रियाशील हुनुहुनछ । वृद्ध उमेरमा उहाँलाई गाडी नहुँदा निकै असहज भयो, महर्जनले भने,’त्यसैले महानगरपालिकाले उहाँलाई सुरक्षाकर्मीसहितको गाडी सुविधा दिन लागेको हो ।’

जोशी चढ्ने गाडीको सबै खर्च महानगरपालिकाकले नै ब्यहोर्नेछ ।