सडक मिचेर बनाइएका घर भत्काउन शुरु

१३ बैशाख २०७५, बिहीबार ०६:१२

वैशाख १३, काठमाडौ ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्म सडक मिचेर बनाइएका घर संरचना आजदेखि पुनः भत्काउन थालिएको छ ।

सडक विस्तारको जिम्मा पाएको बुटवल बेलहिया व्यापारिक सडक विस्तार आयोजनाले आजदेखि पुनः सडकको ८२ फुटभित्रका घर भत्काउन थालेको हो ।आयोजनाले मिलनचोकदेखि ट्राफिक चोकसम्मका ठाउँ ठाउँका करिब ७० घर डोजर लगाएर भत्काएको छ।

यसअघि वैशाख ४ गते आयोजनाले सडक किनारका घर भत्काउन सुरू गरेको थियो । त्यतिबेला स्थानीयवासीले एक साताभित्र आफैं घर भत्काउने प्रतिबद्धता जनाएपछि आयोजनाका कर्मचारी दुईतीनवटा घर सामान्य रूपमा भत्काएर फर्केका थिए । एक सातासम्म बाँकी घर भत्काउन घरधनीले सुरू नगरेपछि आज पुनः आयोजनाका कर्मचारी डोजर र सुरक्षाकर्मी सहित सडक किनारका घर भत्काउन आएका हुन्।

बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोला सम्मको साढे तीन किलोमिटर क्षेत्रमा सडक मिचेर बनाइएका ३११ घर हटाउन आयोजनाले पटक पटक आग्रह गर्दा पनि अटेर गरेपछि डोजर लगाइएको सडक आयोजनाका इन्जिनियर गोविन्दकुमार श्रेष्ठले बताउनुभयो ।

बुटवल राजमार्ग चौराहादेखि बेलहियासम्मको सडक निर्माणाधीन अवस्थामा रहेकाले सोहीअनुसार बुटवल चौराहादेखि चिडियाखोलासम्मको मुख्य बजार क्षेत्रको सडक छ लेन बनाउन आयोजनाले काम थालेको हो । तीन वर्षअघिदेखि आग्रह गर्दै आएकोमा अहिलेसम्म जम्मा २५ वटा घरमात्र घरधनीले भत्काएका छन् ।

सडक विस्तार आयोजनामा ५० मिटर सडक क्षेत्रमध्ये बीचमा डिभाइडर, दुवैतर्फ साढे १० मिटर चौडाइ भएको मुख्य लेन र त्यसभन्दा बाहिर ६ ६मिटरको सर्भिस लेन हुनेछ ।सडक विस्तार रु ४३ करोड २३ लाखमा द कन्चनजंगा विरुवा जेभी कन्ट्रक्सनसँग ठेक्का सम्झौता भएको आयोजनाका इन्जिनियर श्रेष्ठले जानकारी दिए ।