श्रीनिवास खतरा मुक्त, घटनास्थलमा फेला पर्यो मंगोल आर्मीको पर्चा

२५ चैत्र २०७४, आईतवार ०९:५३

चैत २५, काठमाडौं ।

गोली लागेर घाइते आचार्य श्रीनिवास खतरामुक्त रहेको उनी उपचाररत अस्पताल प्रशासनले जनाएको छ ।

आइतबार बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला आचार्यलाई विराटनगरको जतुवामा गोली प्रहार भएको थियो ।

उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।

गोली लागेर घाइते भएलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो ।

फेला पर्यो मंगोल आर्मीको पर्चा

हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि गोली प्रहार कसले गर्‍यो भनेर एकीन जानकारी आएको छैन तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ ।

त्यसैले गोली प्रहारमा पनि उसैको संलग्नता हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

पर्चामा ‘भारतको दलाली गर्नेहरुलाई ठेगान लगाउने अभियान’ शुरु गरेको उल्लेख छ । तर गोली प्रहार गरेको भनेर स्पष्ट रुपमा पर्चामा उल्लेख छैन ।