शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित

१८ चैत्र २०७४, आईतवार ०७:०९

चैत १८, काठमाडौं ।

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधनको शोकमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

निर्वाचन समीक्षा गर्न भनेर यही चैत ९ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक शुरु भएको थियो ।

आइतबार बिहान ११ बजे बस्ने बैठकमा खड्काको निधनमा शोक प्रस्तावमात्र पारित हुनेछ र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘स्वर्गीय खड्काप्रति सम्मान प्रकट गर्दै बैठक स्थगित हुनेछ ।’

निर्वाचन समीक्षाको क्रममा हालसम्म ४३ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका खड्काको गत शुक्रबार दिल्लीको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । उनको पार्थिव शरीरलाई शनिबार राति सानेपास्थित निवासमा ल्याइएको थियो ।

आइतबार बिहान ९ बजेपछि पार्टी केन्द्रीय कार्यालयमा राख्ने र ३ बजे अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने नेपाली कांग्रेसले जनाएको छ ।