वडा अध्यक्षले नै गरे वडा कार्यालयमा तालाबन्दी

२५ चैत्र २०७४, आईतवार ०८:०६

चैत २५, काठमाडौं ।

सडक निर्माणमा आफूले सिफारिस गरेको भन्दा बढी रकम गाउँपालिकाबाट भुक्तानी भएको विरोधमा बान्नीगढी-जयगढ गाउँपालिका ३ का वडाअध्यक्ष कुलबहादुर सेट्ठीले आफ्नै कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाको जयगढ-बेलपाटा-चापाधारा सडक योजनामा आफूले १२ लाख रकम निकासाको सिफारिस गरेकोमा गाउँपालिकाले १७ लाख भुक्तानी गरेको भन्दै कार्यालय बन्द गरेर प्राविधिक फाँटमा चाबी बुझाएको वडा अध्यक्ष सेट्ठीले जानकारी दिए ।

वडा कार्यालय बन्द भएपछि वडाका सबै प्रकारका कामकाजहरु रोकिएका छन् । अध्यक्ष सेट्ठीले वडा अध्यक्षको काम कर्तव्य र अधिकार क्षेत्र मिचेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत निवेदन दिएको बताए ।

गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले वडा अध्यक्ष सेट्ठीलाई काम भए/नभएको हेर्न भने पनि रकम नै तोकेर सिफारिस गर्ने प्रावधान नरहेको टेलिफोनमा बताए ।

नेपालगञ्जमा उपचाररत गाउँपालिका अध्यक्ष खड्काले उनले असन्तुष्टीलाई प्रक्रियागत रुपमा नराखेर वडामा तालाबन्दी गरेर कर्मचारीलाइ चाबी बुझाउन नहुने बताए ।

वडा कार्यालयमा तालाबन्दी भएपछि वडा कार्यालयबाट वडावासीहरुले पाउने, सिफारिस, पञ्जिकरण लगायतका सेवा ठप्प भएका छन् । वडा परिषद्ले उक्त सडक निर्माणका लागि २० लाख रुपैयाँ बजेट विनियोजित गरेको थियो ।