लामखुट्टेलाई खोजी खोजी मार्ने “राडार”को आविष्कार

२७ चैत्र २०७४, मंगलवार १०:०८

चैत २७, काठमाडौं । एजेन्सी

चीनमा यस्तो सैन्य राडार बनाइएको छ जसले लामखुट्टेलाई जिउन दिनेछैन । अर्थात् यसले लामखुट्टेको खोजी खोजी सफाया गर्नेछ ।

उक्त शक्तिशाली राडारले लामखुट्टेलाई शत्रु सम्झी निशाना बनाउनेछ ।

चीनको जंगली तथा दुर्गम इलाकाहरुमा तैनाथ सेनाका जवानहरु शत्रुको हमलाबाट नभै लामखुट्टेको टोकाईबाट सर्ने रोगका कारण जोखिममा पर्ने गरेका छन् ।

लामखुट्टेका कारण सैनिकहरुलाई मलेरिया, डेंगु, जिका भाइरस लगायतका रोगहरुका कारण मृत्यु हुने गरेको छ । जसका कारण लामखुट्टे नै सेनाको सबैभन्दा ठूलो शत्रु बन्न पुगेको छ ।

सोही कारण चीनको सरकारी अनुसन्धान विभाग लामखुट्टेमाथि धावा बोल्ने उक्त अनौठो राडार निर्माण गरी त्यसको सफल प्रयोगमा जुटेको छ । जसले २ किलोमिटरसम्मको क्षेत्रमा रहेका लामखुट्टेलाई खोजेर नष्ट गर्दछ ।

यो सैन्य राडारले ठीक उहीँ प्रविधिमा काम गर्दछ जसले सेनाको राडारले लुकेका शत्रुहरु पत्ता लगाएर मिसाइल वा गोली प्रहार गर्दछ । यस राडारले विकिरणको प्रहारमार्फत लामखुट्टेलाई नष्ट गर्दछ ।

बेइजिंग इन्स्टिच्यूट अफ टेक्नोलोजीमा रहेको रक्षा प्रयोगशालामा यो राडारको प्रोटोटाइपको परीक्षण चलिरहेको छ । परीक्षण सफल भएसँगै यसलाई सैन्य विभागलाई हस्तान्तरण गरिनेछ ।