रोनाल्डोको पेनाल्टी गोलसँगै रियल मड्रिड सेमिफाइनलमा : च्याम्पियन्स लिग

२९ चैत्र २०७४, बिहीबार ०८:५३

चैत २९, काठमाडौं ।

पहिलो लेगमा ३-० को हार व्यहोरेको युभेन्टसले उत्कृष्ट कमब्याक गर्दै रियल मड्रिडलाई हराएको छ । तर, इन्जुरी टाइममा क्रिष्टियानो रोनाल्डोले गरेको पेनाल्टी गोलको मद्दतमा रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

दोस्रो लेगमा रियल मड्रिड युभेन्टससँग ३-१ ले पराजित भएको छ । तर, ९७ औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलसँगै रियल समग्रमा ४-३ को जितका साथ अन्तिम चारमा पुगेको छ ।

बेर्नाबाउमा भएको खेलमा युभेन्टसले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । ३७ औं मिनेटमा उनले नै दोस्रो गोल गरे र पहिलो हाफमा २-० को अग्रता दिलाए ।

खेलको ६० औं मिनेटमा माटुइडीले गोल गरे । यसपछि खेल युभेन्टसको पक्षमा थियो तर, इन्जुरी टाइम उसको पक्षमा रहेन ।

गोलकिपर बुफोनले रातो कार्ड पाए भने रियलले पेनाल्टी पायो । जसमा रोनाल्डोले गोल गर्दै रियललाई अन्तिम चारमा पुर्‍याए ।

अर्को खेलमा बार्यन म्युनिख र सेभियाले गोलरहित बराबरी खेलेका छन् । तर, पहिलो लेगमा हात पारेको २-१ को जितका कारण जर्मन च्याम्पियन बार्यन पनि अन्तिम चारमा पुगेको छ ।

यस्तै रोमा र लिभरपुल पनि अन्तिम चारमा पुगेका छन् ।