रुसले भन्यो- “अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्ध”

३० चैत्र २०७४, शुक्रबार ०७:४८

चैत ३०, काठमाडौं ।

रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् ।

पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । उनले युद्धका कुनै पनि सम्भावनालाई इन्कार गर्न नसकिने बताए ।

उनले अमेरिकाको रवैयाले विश्व शान्ति खलबलिने चेतावनीसमेत दिए ।

आउँदा केही घण्टामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र व्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक हमलाको जवाफ कसरी दिने भनेर छलफल गर्न सक्नेछन् ।

यद्यपि ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीकोबारेमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ ।

यसअघि सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला हुँदा कयौं व्यक्ति मारिएका थिए । सो आक्रमणमा सिरियाका सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, रुसले आरोप अस्वीकार गर्दै आएको छ ।

पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिका भ्रमणसमेत रद्द गरेका थिए । भ्रमण रद्दलार्इ आक्रमणको सम्भावनासँग जोडेर हेरिएको थियो ।

त्यसअघि टि्वटरमार्फत ट्रम्पले आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएका थिए । ११ अप्रिलमा ट्रम्पले भनेका थिए, ‘रुस आफ्नो साथी सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ ।’

त्यसलगत्तै ट्रम्पले ल्याटिन अमेरिका भ्रमण रद्द गरेपछि अब आक्रमण गर्ने अनुमान गरिएको थियो ।

तर, त्यसको चौबीस घण्टापछि फेरि अर्को टि्वट गर्दै ट्रम्पले भनेका छन्, ‘मैले कहिले पनि भएको छैन कि सिरियामाथि कहिले आक्रमण गर्छौं । छिट्टै पनि हुनसक्छ या फेरि कहिल्यै नहुन पनि सक्छ । जे भए पनि मेरो प्रशासन अमेरिकाले उक्त इलाकामा इस्लामिक स्टेटलाई लखेट्नका लागि राम्रो काम गरेको छ । यसकालागि कसैले पनि हामीलाई धन्यवाद भनेका छैनन् ।’