राष्ट्र बैंकका कर्मचारीलाई २०४ प्रतिशतसम्म भत्ता, आगामी बैशाख ३ गते राष्ट्र बैंकबाट एक सय कर्मचारी अवकाश हुने

३० चैत्र २०७४, शुक्रबार १०:३६

चैत ३०, काठमाडौं ।

राष्ट्र बैंककै कर्मचारीको तलबको अनुपातमा २०४ प्रतिशतसम्म भत्ता लिने गरेको पाइएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई मितव्ययी बनाउने जिम्मेवारी बोकेको राष्ट्र बैंक आफैंमा भने मितव्ययी हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकका कर्मचारीले कर्मचारी सञ्चय कोष, औषधि उपचार कोष, उपदान कोष र कर्मचारी सुरक्षा कोष बाहेक १४ किसिमका भत्ता पाउने गरेका छन् । ७ किसिमका भत्ता सबैले र थप ७ किसिमका भत्ता विशेष समूहका कर्मचारीले पाउने गरेका छन् । ‘यस्ता भत्ता र प्रोत्साहनबापतको खर्च, तलवको अनुपातमा २०४ प्रतिशतसम्म हुन आउँछ’ महालेखाले भनेको छ ।

भत्तामा मात्र केही अर्ब खर्च हुने गरेको छ । २०७१/७२ मा १ अर्ब ४१ करोड १३ लाख खर्च भएको पाइएको छ ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार बैंक सेवा १ हजार ९७ र प्राविधिकमा १ सय ३२ गरी कुल १ हजार २ सय २९ कर्मचारी छन् ।

राष्ट्र बैंकले साधारण, प्रशासनिक खर्च र प्रोभिजन शीर्षकमा कुल ७ अर्ब १९ करोड खर्च भएको देखाएको छ । कर्मचारीको भत्ता र प्रात्साहन वापत मात्रै बैंकले कुल प्रशासनिक लगायतको खर्चको १५ प्रतिशत रकम खर्च गरेको देखिन्छ ।

विवाद

राष्ट्र बैंकको कर्मचारी विनियमावलीले ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर हदको दोहोरो अवकाश नीति अवलम्बन गरेको छ ।

३० वर्षे सेवा अवधिको कारण यसअघि चाँडो–चाँडो स्तरोन्नती पाएका कर्मचारी यसलाई हटाउन पर्ने पक्षमा छन् ।

तर, लोकसेवा आयोगले हाल यही व्यवस्था कायम हुने निर्णय गरेपछि यो विवाद तत्काललाई केही साम्य भएको छ ।

आगामी बैशाख ३ गते राष्ट्र बैंकबाट एक सय कर्मचारी अवकाश हुने भएका छन् । ३० वर्षे सेवा निवृत्तिको विपक्षमा रहेकाहरुले यसरी एकै पटक कर्मचारी अवकाश हुँदा समस्या पर्ने बताउँदै आएका छन् ।

तर, यसका पक्षधरहरुले भने अवकाशपछि पनि तल्लो तहका कर्मचारीहरुले परिपुर्ति गर्ने बताउँदै आएका छन् ।