मनोज पुनले पठाएको सुवास गुरुङ पक्राउ परेसँगै बलु पौडेल हत्याकाण्डमा संलग्न सबै प्रहरी नियन्त्रणमा

२२ चैत्र २०७४, बिहीबार ०९:३३

चैत २२, काठमाडौं ।

प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके मनोज पुन सहयोगी सुवास गुरुङ पक्राउ परेका छन् ।

पोखराबाट पक्राउ परेका उनी रुपन्देहीका व्यवसायी बलु पौडेलको हत्यामा सुटरको रुपमा प्रयोग भएका थिए ।

प्रहरीका अनुसार मनोजले हरेक अपराधिक घटना घटाउन छुट्टाछुट्टै व्यक्तिको प्रयोग गर्ने गरेका थिए । पौडेलको हत्या गर्न १ लाख रुपैयाँको सुपारी दिएर सुवासलाई सुटरको जिम्मेवारी दिएका थिए ।

लमजुङको बाङ्ग्रे गाउँपालिका–५, भोर्लेटार स्थायी घर भएका उनी पछिल्लो समय पोखरा–१०, रामबजारमा बस्दै आएका थिए ।

बलु हत्यापछि पनि लामो समयसम्म प्रहरीको आँखा छल्न सफल भएका उनी पछिल्लो समय पोखरामा गुन्डागर्दीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

एक प्रहरी अधिकृत भन्छन्, ‘उनी त्यहाँका टोले गुन्डाहरुसँग मिलेर विभिन्न गतिविधि गर्दै आएका थिए ।’

पुनले आफ्नो समूहका सदस्यबीच ‘भर्टिकल कम्यूनिकेशन’ गराउने भएकाले उनले प्रयोग गरेका व्यक्तिहरुको पहिचान गर्न समस्या भएको प्रहरी बताउँछन् ।

‘पुनको सदस्यहरुबीच एकआपसमा चिनजान हुँदैनथ्यो । सिधै उनीसँगै मात्र सम्पर्क हुने गरेको थियो’, एक अधिकारी भन्छन्, ‘त्यही भएर प्रहरीलाई विभिन्न लेयरमा रहेर घटनामा संलग्नको पहिचान गर्न हम्मेहम्मे परेको थियो ।’

तर, मंगलबार सुवास गुरुङ पक्राउ परेसँगै बलु पौडेल हत्याकाण्डमा संलग्न सबै प्रहरी नियन्त्रणमा पुगेका छन् ।

‘घटना प्रत्यक्ष रुपमा संलग्न सबै पक्राउ परिसकेका छन्’, रुपन्देही प्रहरीका प्रमुख एसपी श्याम ज्ञवालीले भने, ‘गुरुङविरुद्ध ज्यान मुद्दा, हातहतियार तथा खरखजाना र संगठित अपराध अन्तरगत मुद्दा चलाउँछौं ।’

अनुसन्धामा संलग्न अधिकारीहरुका अनुसार गुरुङलाई गोली चलाउन पुन आफैंले तालिम दिएका थिए ।

पुनले भारतका गोवासहित विभिन्न ठाउँमा बसेर इमोबाट पेस्तोल चलाउन उनलाई सिकाएको खुलेको छ । प्रहरी स्रोतले भन्यो, ‘गुरुङले ५/६ घण्टासम्म भिडियो हेरेर पेस्तोल चलाउन सिकेको बयान दिएका छन् ।’

प्रहरीका अनुसार मनोज पुनको समूहमा जोडिए पनि उनीहरुबीच एकआपसमा भेटघाट थिएन ।

एकदिन पुनले उनलाई सम्पर्क गरेर हत्याको ‘कन्ट्याक्ट’ दिएका थिए । ‘पैसा धेरै आउँछ भनेपछि उसले मनोजलाई साथ दिएको देखिन्छ’, रुपन्देहीका प्रहरी प्रमुख ज्ञवाली भन्छन् ।

पेस्तोललार्इ गुरूङको हात लगाउन सडकबालकको प्रयोग भएको खुलेको छ