पोखराका कयौं सरकारी जग्गा व्यक्तिको कब्जामा, खोजी अभियान सुरु

३० चैत्र २०७४, शुक्रबार ०७:४२

चैत ३०, काठमाडौं ।

केही दिनअघि पोखरा-१५ स्थितको ७ सय ६८ रोपनी जग्गा व्यक्तिको कब्जाबाट सरकारी स्वामित्वमा आयो ।

व्यक्तिले कब्जा गरी आˆनो नाममा दर्ता गरेको र पहिरो पीडितको नाममा गुम्न लागेको जग्गा स्थानीयको दबाब र वडाका जनप्रतिनिधिको प्रयासपछि सरकारी स्वामित्वमा आएको थियो ।

पोखरा-१५ मै सार्वजनिक जग्गा मिचेर बनाइएका ३८ घर जनप्रतिनिधिकै पहलमा भत्काइएको थियो । जहाँ अझै सयौं रोपनी सार्वजनिक जग्गा मिचिएका छन् । कति सार्वजनिक जग्गा बाँकी रहेको छ भन्ने लेखाजोखा छैन ।

वडा नम्बर १४ मा हजारौं रोपनी सार्वजनिक जग्गा व्यक्तिले कब्जा गरेको स्थानीय बताउँछन् । ‘पोखराभरीमै सबैभन्दा बढी कहीँ सार्वजनिक जग्गा कब्जा भएको छ भने त्यो पोखरा-१४ मै हो,’ स्थानीय गनेस पौडेलले भने, ‘कम्तीमा पनि ५ हजार रोपनी सार्वजनिक जग्गा अनेक नाममा मिचिएका छन् ।’

पोखरा-१४ मा हिमालयन गल्फ कोर्सदेखि हाइड्रोसम्मले सार्वजनिक मिचेको स्थानीय एक वृद्धले बताए । ‘शक्तिको आडमा यहाँका बहुमूल्य जग्गा हडपिँदा पोखरा महानगरपालिका साक्षी बसिरहन्छ,’ ती वृद्धले भने, ‘अझै यहाँ सार्वजनिक जग्गा कति छ भने कुराकै लेखाजोखा छैन ।’

सराङकोटमा सार्वजनिक जग्गामै ठूला होटलका बिल्डिङ बनेका छन् । फागुन २८ गते सराङकोटमा सार्वजनिक जग्गा मिचेर पक्की घर बनाउन लागेको देखेपछि ३ टहरा वडाका जनप्रतिनिधिले भत्काएका थिए ।

‘यहाँ कति मिचिएको छ भन्ने अमिन लगाएर नहेर्दासम्म यसै भन्न सकिँदैन । केही सार्वजनिक जग्गा मिचिएको विषय अदालतमा विचाराधीन छ,’ पोखरा १८ सराङकोटका वडाध्यक्ष रणबहादुर थापाले भने ।

पृथ्वीचोकमा २०३२ सालमा अधिगहण गरिएको २ सय ५ रोपनी जग्गामा अहिले ४ सयभन्दा बढी घर भूमिहीनका नाममा बनेका छन् । १० वर्ग किलोमिटर रहेको फेवातालको जग्गा अहिले ४ दशमलव २० वर्ग किलोमिटरमात्र रहेको छ । फेवातालको जग्गा मिचेर थुप्रै घरटहरा बनेका छन् ।

यतिबेला मानवीय अतिक्रमणको चपेटामा फेवाताल छ । प्रदेशसभा बैठकमा सांसद हरिशरण आचार्यले फेवातालको मापदण्ड मिचेर बनेका ९ सय २५ लालपूर्जा खारेज गर्न माग गरेका थिए ।

फेवातालसँगै कमलपोखरी, बेगनास, रुपा, निउरेनी, खास्टे लगायत तालको मापदण्ड मिचेर घर बनाउने क्रम बढेकोबढ्यै हुँदा पनि महानगरले संरक्षण गर्न नसकेको नागरिक समाज कास्कीका निवर्तमान संयोजक रामबहादुर पौडेल बताउँछन् ।

२०६४ सालको सर्वेक्षणअनुसार बेगनासमा ११ हेक्टर, रुपामा ३४, मैदीमा ३३, दिपाङमा ११, खास्टेमा १०, न्युरेनीमा ३, गुँदेमा ३ र कमलपोखरीमा ७ हेक्टर जग्गा अतिक्रमण भएको तथ्यांक छ ।

पोखरामा आमा समूह, लायन्स क्लब लगायत संस्थाले पनि सार्वजनिक जग्गा दोहन गरिरहेका छन् । विभिन्न जातीय तथा सामाजिक संघसंस्थाले पनि यहाँ सार्वजनिक जग्गा दोहन गरिरहेका छन् ।

२०६९ सालतिर साविकको पोखरा उपमहानगरपालिका वडा नम्बर १८ मा सार्वजनिक जग्गाको लगत संकलन गर्ने काम भएको पोखरा महानगरपालिका कानुन अधिकृत नारायण शर्मा बताउँछन् । ठूलो रकम खर्च गरेर लगत संकलन त गरियो तर कहाँ कति सार्वजनिक जग्गा छ र कति मिचिएका छन् भन्ने यकिन त्यो अध्ययनले पनि दिन सकेन ।

सार्वजनिक जग्गामाथि यसरी धाबा बोल्ने काम भइरहेको पोखरामा महानगरपालिकाले २०७५ साललाई सार्वजनिक जग्गा संरक्षण वर्ष बनाउने निर्णय गरेको छ ।