पार्टी एकतापछि एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला ?, “खुल्ला प्रतिस्पर्धामा जानैपर्छ”

४ बैशाख २०७५, मंगलवार ०८:२०

वैैशाख ४, काठमाडौं ।

नेकपा एमाले र माओवादीवीच पार्टी एकता भएपछि केपी ओली र प्रचण्ड दुबैले समानान्तर रुपमा अध्यक्षको जिम्मेवारी निभाउने सहमति जुटिसकेको छ । तर, पार्टी एकतापछि हुने महाधिवेशनबाट को अध्यक्ष बन्ने ? माधव नेपाल कि प्रचण्ड ?

प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाललाई आगामी महाधिवेशनमा पार्टी अध्यक्ष बनाउन सहयोग गर्ने गोप्य वचन दिएको दाबी माओवादी नेताहरुले गरेका छन् ।

यसैगरी प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई पनि आगामी महाधिवेशनमा अध्यक्ष बन्न सघाउने र आफू अध्यक्षमा नलड्ने वचन दिइसकेको माओवादी नेताहरुको दाबी छ ।

उसोभए पार्टी एकतापछिको पहिलो महाधिवेशनपश्चात एकीकृत कम्युनिष्ट पार्टीको अध्यक्ष को बन्ला त ? पार्टीको सर्वोच्च निकायका रुपमा रहने महाधिवेशनले टुंगो लगाउनुपर्ने नेतृत्वको विषय अहिले नै कोठामा बसेर टुंगो लगाउने कि महाधिवशेनकै मैदानमा लोकतान्त्रिक प्रतिस्पर्धा गरेर टुंग्याउने ?

महाधिवेशनपछिको नेतृत्वबारे हामीले केपी ओली निकटका एमाले नेता एवं सञ्चार राज्यमन्त्री गोकुल बास्कोटालाई सोध्यौं- ‘एकता महाधिवेशनमा अध्यक्षका लागि मतदानमा जाँदा के हुन्छ ? अहिले नै विवाद गरिराख्नुभन्दा महाधिवेशनमा प्रचण्ड, माधव नेपाल र घनश्याम भुसाललगायतले खुल्ला चुनावी प्रतिस्पर्धामा उत्रिए हुँदैन ?’

प्रश्नको जवाफमा राज्यमन्त्री बास्कोटाले भने- ‘पार्टी एकतापछिको पहिलो महाधिवेशनमा सहमतिकै आधारमा नेतृत्व चुन्नु व्यवहारिकरुपमा उपयुक्त हुन्छ, त्यसपछि चाहिँ खुल्ला प्रतिस्पर्धामा जानैपर्छ ।’

पार्टी एकता भइहाल्यो भने आगामी महाधिवेशनमा अध्यक्षका लागि प्रचण्ड र माधव नेपालवीच प्रतिस्पर्धा हुन सक्छ । माधव र प्रचण्डवीच आपसी सहमति भएन र चुनावै हुने स्थिति आयो भने घनश्याम भुसाल वा अरु कुनै नेतालाई समेत पार्टी अध्यक्षका लागि उमेद्वार बन्न ढोका खुल्ने छ ।

उता, माओवादी नेताहरु अहिले दुईजना अध्यक्ष हुनुपर्ने र आगामी महाधिवेशनपछि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने सुनिश्चितता अहिले नै खोजिरहेका छन् ।

एमाले नेता माधवकुमार नेपाल भने आगामी महाधिवेशनबाट एकीकृत पार्टीको अध्यक्ष आफैं हाँक्न चाहन्छन् । उनी आगामी महाधिवेशनमा प्रचण्डलाई छिर्के हान्ने दाउमा देखिन्छन् ।

तर, वर्तमान अध्यक्ष केपी ओली भने एउटै कक्षामा दोहोर्‍याएर पढ्दिनँ भन्दै आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबी नगर्ने, बरु ५ वर्ष प्रधानमन्त्री चलाउने सोचाइमा देखिन्छन् ।

यद्यपि माओवादी अध्यक्ष प्रचण्ड आगामी अढाइ वर्षमा सरकारको काँध फेर्ने र प्रधानमन्त्री बन्न पाउनुपर्ने अडानमा छन् ।