पनौती नगरपालिकामा प्याराग्लाइडिङको उडान हुने

९ बैशाख २०७५, आईतवार ०९:१०

वैशाख ९, काठमाडौं ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ ।


पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

 

प्याराग्लाइडिङको लागि १५ वटा छाता प्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ ।

 

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सो उडान गर्न लागिएको बताए ।

पर्यटकीय र कृषिको सम्भावना बोकेको कुशादेवी बिहावर क्षेत्र पनौती बजारबाट करीब चार किलोमिटर दक्षिण–पश्चिम पर्दछ ।

स्थानीय कला र संस्कृतिको प्रवर्द्धन र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागिएको सो महोत्सव यही बैशाख १५ देखि १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।