नेता खड्काको अन्तिम संस्कार आज गरिँदै, श्रद्धाञ्जली दिनेहरुको निवासमा भिडभाड

१८ चैत्र २०७४, आईतवार ०६:५५

चैत १८, काठमाडौं ।

नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ । अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ ।

बेलायतमा बस्दै आएका खुमबहादुरका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको छ । अहिले खड्कालाई श्रद्धाञ्जली दिनेहरुको सानेपा निवासमा भिडभाड छ ।

खड्काको पार्थिव शरीरलाई आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिने कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए ।

साढे दुई वर्षअघि दिल्लीको एपोलो अस्पतालमा खड्काको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

गत फागुनमा उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि दिल्ली लगिएको थियो । दिल्ली लगिएको करिब ४० औं दिनमा ६८ वर्षको उमेरमा खड्काको निधन भएको हो ।

खड्काको निधनमा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

आइतबार बिहान ११ बजे बस्ने तय भएको बैठक खड्काको निधनमा शोक प्रस्ताव मात्र पारित गरेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगित हुनेछ ।