डोटीमा शिक्षक आवश्यकता भन्दा १७५ बढी, विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरु बढी

२१ चैत्र २०७४, बुधबार १०:१७

चैत २१, काठमाडौं ।

डोटी जिल्लामा प्राथमिक तहका शिक्षकहरुको संख्या आवश्यकता भन्दा एक सय ७५ ले बढी भएको एक तथ्यांकले देखाएको छ ।

जिल्ला शिक्षा अधिकारी अनन्तकुमार पौडेलले सार्वजनिक गरेको तथ्यांक अनुसार प्राथमिक तह (१-५ आधारभूत) मा अध्ययनरत विद्यार्थीहरुको कुल संख्या ३९ हजार ६ सय एक रहेको देखिएको छ । सो तहमा अध्यापनरत शिक्षकहरुको संख्या एक हजार ५५ रहेको छ ।

जिशिअ पौडेलले बनाएको चार्ट अनुसार शिक्षक विद्यार्थी अनुपात निकाल्दा यस तहमा १७५ शिक्षक बढी हुन आउँछन् ।

एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनु पर्ने व्यवस्था छ । यस अनुसार जिल्लामा प्राथमिक तहका लागि ८८० शिक्षक आवश्यक हुन्छ ।

उक्त तथ्यांक अनुसार निमाबि तह (६-८ आधारभूत) का बिद्यालयमा शिक्षकको अभाव देखिएको छ ।

सो तहमा जिल्लाका कुल १५ हजार ६ सय ३३ विद्यार्थीका लागि ३४७ शिक्षक आवश्यक पर्नेमा दुई सय ६५ मात्र रहेको जिशिअ पौडेलले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

कक्षा ९-१० र ११-१२ तहमा विद्यार्थी संख्याको अनुपातमा शिक्षकहरु बढी रहेका छन् । ९-१० तहमा ४९ शिक्षक बढी छन भने ११-१२ मा १५ बढी छन् ।

नौ स्थानीय तह रहेको जिल्लाका सात स्थानीय तहमा प्राथमिक तहका शिक्षकहरुको संख्या आवश्यकता भन्दा बढी देखिएको छ ।

आदर्श गाउँपालिका र सायल गाउँपालिकामा भने चाहिने भन्दा कम शिक्षक रहेको देखिएको छ । आदर्श गाउँपालिकाका पाँच हजार दुई सय आठ विद्यार्थीका लागि एक सय १६ शिक्षक चाहिनेमा ८८ मात्रै रहेका छन् ।

यस्तै सायल गाउँपालिकाका चार हजार दुई सय ६० बिद्यार्थीका लागि ९५ शिक्षक चाहिनेमा ७२ मात्रै कार्यरत छन् ।

जोरायल गाउँपालिकामा शिक्षक विद्यार्थी अनुपात हेर्दा सवैभन्दा बढी शिक्षकहरु देखिएका छन् । यस गाउँपालिकाको प्रावि तहका तीन हजार दुई सय ११ बिद्यार्थीका लागि ७१ शिक्षक चाहिनेमा एक सय ५७ शिक्षक रहेका छन् ।

यस्तै शिखर नगरपालिकामा बिद्यार्थी अनुपात भन्दा ६५ शिक्षक बढी रहेका छन् । प्राबि तहका कुल पाँच हजार सात सय ५६ विद्यार्थीका लागि एक सय २८ शिक्षक हुनु पर्नेमा एक सय ९३ रहेका छन् ।

बढी केदार गाउँपालिकामा प्रावि तहका लागि आवश्यकता भन्दा ४५ शिक्षक बढी रहेको देखिएको छ । तीन हजार एक सय आठ विद्यार्थीका लागि ६९ शिक्षक आवश्यक भएकामा एक सय १४ शिक्षक रहेका छन् ।

यस्तै पूर्वी चौकी गाउँपालिकामा १२, बोगटान गाउँपालिकामा ११, के आई सिंह गाउँपालिकामा पाँच र दिपायल सिलगढी नगरपालिकामा दुई शिक्षक प्रावि तहका लागि आवश्यकता भन्दा बढी रहेका छन् ।

पुर्वी चौकीमा पाँच हजार दुई विद्यार्थीका लागि एक सय २३, बोगटानमा चार हजार ३० बिद्यार्थीका लागि एक सय एक, केआईसिंहमा तीन हजार ६ सय ९५ का लागि ८७ र दिपायल सिलगढीमा पाँच हजार तीन सय ३१ बिद्यार्थीका लागि एक सय २० विद्यार्थीहरु कार्यरत छन् ।