जतिसक्दो छिटो निर्माण हुन्छ धरहरा : ओली

१२ बैशाख २०७५, बुधबार ०८:२१

वैशाख १२, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो छिटो अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो कुरा बताएका हुन्। ।

ओलीले अब देश समृद्धि र विकासको बाटोमा अगाडि बढेको बताउँदै धरहरा निर्माणसँगै भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणमा सहयोग गर्न सबैसँग अपिल गरे।

प्रधानमन्त्री ओलीले भने “हाम्रो कलात्मकता र सुन्दरतालाई कायम राख्दै पुरानै शैलीमा, भूकम्प आउँदा पनि नभत्किने बलियो धरहरा, रानीपोखरी, काष्ठमण्डप तथा वसन्तपुरका सांस्कृतिक संरचनालगायत अन्य संरचना निर्माणमा सरकार जुटेको छ”।

आगामी दिनमा सरकारले सत्ताभन्दा पनि जनता बलियो हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले देशमा समृद्धिवाद आउँदैछ भने।

वैशाख १२ गतेको भूकम्प र त्यसपछि गएका पराकम्पका कारण आठ हजार ९७९ जनाको मृत्यु भएको थियो भने २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पका कारण करीब रु सात खर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो ।