खारेज गर्यो अमेरिकाले टीपीएस सेवा : प्रभावित भए ९ हजार नेपाली

१४ बैशाख २०७५, शुक्रबार ०५:५८

वैशाख १४, काठमाडौं ।

अमेरिकाले नेपालीलाई दिँदै आएको टीपीएस सुविधा खारेज गरेको छ । यसबाट करिब ९ हजार नेपाली प्रभावित हुने मानिन्छ ।अमेरिकी सरकारले सूचना जारी गर्दै टीपीएस सुविधा लिएकाहरु एकवर्षभित्र आफ्नो हैसियत परिवर्तन गरेर बस्न सक्ने या त्यो अवधिमा नेपाल फर्किनुपर्ने बताएको छ ।

तीनवर्षअघि गएको भूकम्पपछि अमेरिकामा रहेका नेपालीलाई त्यहाँ बस्ने सुविधासहितको अस्थायी बसोबासको अनुमति अमेरिकी सरकारले दिएको थियो । अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले सन् २०१९ को जुनबाट यो सुविधा खारेज गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

२४ जुन २०१९ देखि यो सुविधा पूर्ण रुपमा खारेज जनाएको छ । नेपालमा २०७२ साल अर्थात् सन् २०१५ मा गएको भूकम्पमा जिवन बिताउन समस्या परेको भन्दै अमेरिकाले टीपीएस सुविधा प्रदान गरेको थियो ।

विज्ञप्तिमा भूकम्पपछि अहिले नेपालको अवस्थामा सुधार आएको पनि उल्लेख गरिएको छ । भूकम्पपछिको पुनर्निर्माणमा पनि नेपालले ठूलो प्रगति गरेको उक्त विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा यो १२ महिना अर्थात् एक वर्षले नेपाललाई आफ्ना नागरिकको पुन ः भर्ना र व्यवस्थापन गर्न सक्ने प्रशस्त समय रहेको पनि उल्लेख गरिएको छ ।

यसअघि नै अमेरिकाको आन्तरिक सुरक्षा मन्त्रालयले अस्थायी बसोबासको अनुमति खारेज गर्ने निर्णय गरेपछि अमेरिका बस्दै आएका करिब नौ हजार नेपालीलाई घर फर्काइने बताइएको थियो ।

सन् १९९० मा कांग्रेसले प्राकृतिक प्रकोप लगायत अन्य आपत्कालिन् स्थिति आइलाग्दा विस्थापित नागरिकलाई फेरि उनीहरुकै देश पठाउनबाट बचाउन टीपीएससेवा सुरु गरेको थियो । तर आप्रवासीको मुद्दामा निकै कडा रुपमा प्रस्तुत हुँदै आइरहेको ट्रम्प प्रशासनले यसअघि नै धेरैपटक टीपीएस सेवालाई चाँडो भन्दा चाँडो खारेज गराउन जोड दिँदै आएको छ ।

ट्रम्प प्रशासनले भने यसअघि नै सो सेवा रद्द गराउने संकेत दिइसकेको छ । २०७२ सालको महाभूकम्पपछि करिब १५ हजार नेपालीहरुलाई टीपीएस सेवा प्रदान गरिएको थियो । तर त्यसमध्ये अहिले ९ हजार मात्र अमेरिका बसोबास गर्दै आएको तथ्यांक सार्वजनिक भएको छ ।

विषेशगरी नेपालीहरु न्युयोर्क सिटीको आसपास क्षेत्रमा बसोबास गर्दै आएको बताइएको छ ।