काठमाडौंमा मात्रै ९ महिनामा ८९ जना बालिका र महिला बलात्कृत, न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने प्रहरीको कार्य योजना

२० चैत्र २०७४, मंगलवार ०७:३५

चैत २०, काठमाडौं ।

काठमाडौंमा आर्थिक वर्ष २०७४/०७५ को चैतसम्म ८९ वटा बलात्कारको घटना भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

परिसरका अनुसार यसअघि आर्थिक वर्ष ०७१/०७२ मा ९२, ०७२०/७३ मा ९९ र ०७३/०७४ मा ११२ जबरजस्तीकरणीका घटना भएका थिए ।

मंगलबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजित जबरजस्तीकरणी अपराध अनुसन्धान तथा नियन्त्रण अभियान कार्य योजनामाथि छलफल कार्यक्रममा प्रस्तुति दिँदै परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापाले पछिल्लो समय महिला तथा बालिबालिकाविरुद्ध हुने अपराध उल्लेख्य रुपमा वृद्धि भएको बताए ।

जबरजस्तीकरणी जस्तो संवेदनशील अपराधको अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरु समेत गम्भीर र संवेदनशील हुन नसेको गुनासो रहेको उल्लेख गर्दै उनले जबरजस्तीकरणीका घटना नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम साथै भएका अपराधको अनुसन्धानलाई थप प्रभावकारी बनाउन अनुशिक्षण कार्यक्रम गरिने बताए ।

साथै, सरोकारवाला निकाय र संघसंस्थाहरुसँगको समन्वय र सहकार्यमा यस्ता घटना न्यूनिकरणका लागि कार्यक्रम सञ्चालन गर्ने प्रहरीको कार्य योजना रहेको समेत उनको भनाइ छ।

सोही अवसरमा प्रहरीले महिला तथा बालिकामाथि हुने अपराधको नियन्त्रणका लागि ३ कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

जनसंख्या वृद्धि, इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग, बेरोजगारी, उच्च जीवनशैलीको चाहना, कानुन कार्यान्वयमा फितलोपन र सांस्कृति विचलन जस्ता कारणले जबरजस्तीकरणीका घटना बढिरहेका छन् ।

‘सरोकारवाला निकायहरुको सहयोग र समन्वयमा ३ महिने अल्पकालिन आयोजना तयार गरी कार्यक्रम गरिनेछ’, परिसरको योजना बारे सार्वजनिक गर्दै थापाले कार्यक्रममा भने, ‘जनचेतनामूलक कार्यक्रम र अपराध अनुसन्धान र पीडितको सुरक्षाका लागि प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यक्रम समेत प्रदान गरिनेछ ।’