ओली र प्रचण्डबीच वार्ता जारी : वैशाख २० भित्रै एकता टुंग्याउने

१६ बैशाख २०७५, आईतवार ०५:२१

वैशाख १६, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नियमित रुपमा पार्टी एकताको तयारीमा रहेको वार्ता जारी भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाख २० भित्रै एकतालाई निष्कर्षमा पुर्याउने गरी सघन छलफल केन्द्रित गरेका छन् । दुई नेताले शुक्रबार र शनिबार करिब पाँच घन्टा छलफल गरेका थिए ।

वैशाख ९ पार्टी स्थापना दिवसको अवसरमा एकता घोषणासभा गर्ने योजना पश्चात दुवै नेताले २० गतेभित्र अर्को मिति टुंगो लगाउने गरी सघन छलफल केन्द्रित गरेको बताइएको छ ।

एकीकृत पार्टीमा दुवै पार्टीको हिस्सेदारीसहित सबै विषय लगभग टुंगो लागेकाले पार्टीभित्रै आन्तरिक गृहकार्य सकेर वैशाख २० मा एकता घोषणासभा मितिको निर्णय हुन सक्ने प्रचण्डनिकट स्रोतले बताएको छ ।

पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन वैशाख २० भित्रै पार्टी एकता संयोजन समिति बैठक बोलाउने दुई अध्यक्षबीच समझदारी भएको छ । एकता भड्काउने प्रयास हुने भएकाले पछिल्ला विकासक्रमबारे दुवै नेताले निकट नेताहरूलाई पनि खुलस्त जानकारी गराएको पाइँदैन ।