सिण्डिकेट : कार्यालय घेराउ गर्न गएकालाई बल प्रयोग गरे १०० मिटर टाढा धपाए प्रहरीले

वैशाख १६, काठमाडौं ।

नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय घेराउ गर्न गएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीलाई प्रहरीले रोकेको छ । प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई कार्यालयदेखि १०० मिटर टाढा धपाएको हो ।

उक्त प्रदर्शनलाई लक्षित गरी प्रदर्शनकारीभन्दा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । सुरक्षाकर्मीले यातायात कार्यालय अगाडिसमेत जान नदिएपछि व्यवसायीहरु केहीबेर प्रर्दशन गरेर फर्किएका थिए ।

यातायात व्यवसायीले शान्तिपूर्ण धर्ना गर्न पनि नदिएर सरकारले लोकतन्त्रविरोधी काम गरेको गुनासो गरेका छन् । आन्दोलन समिति पर्साका संयोजक विनोद मानन्धरले नागरिकलाई दिएको संवैधानिक अधिकार हनन भएको बताए ।

‘संविधानले नागरिकलाई शान्तिपूर्ण धर्ना जुलुस घेराउ गर्ने अधिकार दिएको छ । तर आज त्यो अधिकारको हनन राज्य पक्षबाट भएको छ’ उनले भने ।

यातायात व्यवसायीसँग सरकारले घुडा नटेकेसम्म आन्दोलन जारी रहने मानन्धरले चेतावनी दिए ।

यातायात व्यवसायीहरुको चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार यातायात व्यवसायीहरुले अब २१ गते आफ्नो-आफ्नो गाडीहरुलाई घर ग्यारेजमा थन्क्याउनेछन् ।

संयुक्त आन्दोलन परिचालन समिति प्रदेश २ का संयोजक जगरनाथप्रसाद कलवारले राज्यले निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा ठूलो व्यवसाय यातायात क्षेत्रमा निर्मम प्रहार गरेकोले आन्दोलनमा उत्रिएको बताए ।


प्रकाशित | २०७५ बैशाख १६ प्रकाशित १०:४४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ