विदेशीसँगै नेपाली पनि एडभेन्चर टुरमा हेलिकप्टरको प्रयोग

१३ बैशाख २०७५, बिहीबार ०७:४०

वैशाख १३, काठमाडौ ।

कुनै बेला आपतकालीन उडान तथा कार्गो बोक्ने काममा बढी प्रयोग हुने गरेको हेलिकप्टर अचेल एडभेन्चरस टूरमा बढी प्रयोग हुन थालेका छन्।

काठमाडौं र पोखराका विमानस्थलबाट अहिले छिनछिनमै हेलिकप्टर उड्न थालेका छन्। पर्यटकको पिक सिजन मानिएको अहिलेको समयमा काठमाडौंबाट बिभिन्न कम्पनीका दैनिक १२ वटासम्म उडान हुने गरेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो ।

‘एडभेन्चर टूर, हेरिटेज टूर तथा कार्गो बोकेर जाने हेलिकप्टरहरुको उडानमा प्रतिस्पर्धा नै चलेको छ’ विमानस्थलका महाप्रवन्धकले बताउनुभयो । पर्यटकको बृद्धिसँग हेलिकप्टर कम्पनी र उडान संख्या पनि बढिरहेको उनले बताए । हेलिकप्टर उडानका लागि कुनै निश्चित सेड्यूल हुँदैन । हाल बिदेशीहरुका साथै आन्तरिक पर्यटकहरुले पनि हेलिकप्टर बाट एडभेन्चर टूर गर्ने ट्रेन्ड बढेको क्षेत्रीको भनाई छ ।

काठमाडौ पछि सबैभन्दा बढी हेलिकप्टर उडान पोखरा बिमानस्थलबाट हुने गरेको छ । आपतकालीन उडानहरुमा मात्र नभइ एडभेन्चर टूरहरुका लागि हेलिकप्टरको प्रयोग बढ्न थालेको पोखरा विमानस्थलका सूचना अधिकारी काशिनाथ पौडेल बताउँनु भएको छ ।

सामान्यतया: आपतकालीन उडान गर्ने गरेका हेलिकप्टरहरुले हाल पर्यटकीय गन्तब्यहरुमा चार्टर्ड उडान गर्ने गरेका छन्। काठमाडौंबाट दैनिक रुपमा सगरमाथा बेस क्याम्प, मनाङ र अन्य पर्यटकीय गन्तब्यहरुमा उडान भैरहेका छ ।

मुक्तिनाथ, अन्नपूर्ण बेस क्याम्प, माउन्ट कैलाश, गोसाइँकुण्ड, हलेसी, पाथिभरा लगायतका क्षेत्रमा हेलिकोप्टरहरुको उडानमा प्रतिश्पर्धा नै देखिन थालेको छ । पोखराबाट सिम्रिक, प्रभु, एयर डाइनेस्टी, फिसटेल, अल्टिच्युड एयर लगायतका हेलिकप्टर कम्पनीले उडान गर्दै आएका छन् । नयाँ कैलाश हेलिकप्टर पनि पोखराबाट उडान सुरु गरिसकेको पौडेलले बिजमाण्डूलाई जानकारी दिए ।

पोखरा विमानस्थलले हेलिकप्टर कम्पनीसँग ल्याण्डिङ र पार्किङको शुल्क प्रति यात्रु २ सय रुपैयाँ ट्याक्स लिँदै आएको पनि उनले जानकारी दिए । सिम्रिक एयरको हेलिकोप्टरले अहिले पोखरादेखि दैनिक विभिन्न गन्तब्यमा १० वटासम्म उडान गर्दै आएको कम्पनीका बजार प्रमुख योगेश सापकोटाले जानकारी दिए । उनका अनुसार हाल अन्नपूर्ण बेस क्याम्पजाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ।

सिम्रिक एयरको हेलिकोप्टर चार्टर गर्न बाह्य पर्यटकले एक हजार पाँच सय डलर तिर्नुपर्ने तथा नेपाली पर्यटकले एक लाख २० हजार रुपैयाँदेखि एक लाख ३० हजार रुपैयाँसम्म चार्टर्ड शुल्क तिर्नुपर्ने सापकोटाले जानकारी दिए ।

प्रभु हेलिकप्टरले पोखरादेखि अन्नपूर्ण बेस क्याम्पसम्म दैनिक पाँच देखि १२ वटा उडान भर्दै आएको वरिष्ठ बजार प्रवन्धक सलिना श्रेष्ठले जानकारी दिइन् । अहिले अन्नपुर्ण बेसक्याम्प जानका लागि प्रभु हेलिकप्टर चार्टर्ड गर्दा प्रति घण्टा एक हजार पाँच सय डलर लाग्ने उनले बताइन् । उनका अनुसार प्रभु हेलिकप्टरमा एकपटकमा चारजना यात्रु बस्न मिल्छ ।

कम्पनीसँग हाल तीनवटा हेलिकप्टर छन् । तीनवटा हेलिकप्टरले रेस्क्यु सेवाका साथै पोखरा, लोमान्थाङ, मुक्तिनाथ, जोमसोम, मनाङ लगायतका गन्तब्यमा उडान गर्दै आएको छ। कम्पनीले आगामी महिना थप २ वटा हेलिकप्टर ल्याउने र असार देखि उडान गर्ने योजना बनाएको छ। हाल कम्पनीले पर्यटकको माग अनुसार मुक्तिनाथ र अन्नपुर्ण बेस क्याम्पका लागि उडान ‘फोकस’ गर्दै आएको उनले जानकारी दिइन् ।

एयर डाइनेस्टीले यात्रुको माग अनुसार नेपालभर सेवा दिँदै आएको कम्पनीका विक्री तथा बजार प्रवन्धक सञ्जीव कँडेलले बताए । हाल एयर डाइनेष्टीका पाँचवटा हेलिकप्टरले एभरेस्ट, अन्नपुर्ण क्षेत्र लगायतका विभिन्न गन्तब्यमा उडान भर्दै आएको कँडेलले जानकारी दिए ।

उनले भने हेलिकप्टर व्यवसाय पर्यटन प्रवद्र्धनकालागि निकै राम्रो छ। अहिले पर्यटक भित्रिने हाइ सिजन हा । त्यसैले दैनिक १२ वटासम्म उडान भर्दै आएका छौ । एयर डाइनेस्टीले सामान्यतया सिमीकोटसम्म उडान भर्दै आएको छ । पाँचवटा हेलिकप्टर भएको एयर डाइनेष्टीको पाँच देखि छजना यात्रु बोक्ने क्षमता रहेको उनले बताए।

अल्टिच्युड एयरले देशभर हेलिकोप्टर सेवा दिँदै आएको बजार प्रबन्धक सीताराम सापकोटाले जानकारी दिनुभयो । कम्पनीले रेस्क्यु , कमर्सियल लगायत विभिन्न फ्लाइट संचालन गर्दै आएको उनले बताए । प्राय हाम्रो रेस्क्यु फ्लाइट हुन्छ ।

अल्टिच्युड एयर काठमाडौंबाट उडान हुने गरेको छ। कम्पनीले काठमाडौंबाट माउन्ट एभरेष्ट क्षेत्रमा उडान भर्दै आएको छ। ग्राहकको माग अनुसार कम्पनीले काठमाडौं बाटै अन्नपूर्ण बेस क्याम्प पनि लाने गरेको सापकोटाले जानकारी दिए ।

उनले भने प्रतिस्पर्धा धेरै छ अहिले उडान कहिले बढी हुन्छ त कहिले कम। सिजनको बेला छ घण्टा सम्म उड्ने हेलिकोप्टर बेसिजनमा एक सातासम्म पनि थन्किनुपर्छ।

हाल मुक्तिनाथ, गोसाइकुण्ड र कैलाश जाने पर्यटकहरुले चार्टर गर्ने गरेको सापकोटा बताउँछन् । कैलाश हेलिकोप्टरले दैनिक सात घण्टा सेवा दिँदै आएको अपरेशन चिफ श्रीहरि कुइँकेलले जानकारी दिए । अहिले टुरिष्टको हाइ सिजन भएको कारण खुम्बु क्षेत्रका लागि बढी चार्टरको माग आउने गरेको उनले बताए । अन्नपूर्ण बेस क्याम्प, लाङटाङ,कञ्चनजंगा, लगायतका क्षेत्रमा पनि कम्पनीले सेवा दिँदै आएको उनले बताए। हेलिकप्टर चार्टर गर्दा प्रति घण्टा एक हजार पाँच सय डलर तिर्नुपर्छु उनले भने।

अहिले कैलाशले दुई वटा हेलिकप्टर संचालनमा ल्याएको छ । टुरिष्टको हाइ सिजन भएको कारण दैनिक नौ घण्टासम्म हेलिकप्टर उडान भर्ने गरेको पनि उनले जानकारी दिए।