विकास र समृद्धिमा जोड : अनुराधा कोइराला

वैशाख १२, काठमाडौ ।

प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकास, समृद्धिको लागि एकजुट हुनुपर्ने बताएकी छिन ।

मंगलबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै कोइरालाले भूकम्पपीडितको समस्या समाधानतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिइन । सडक, यातायात, सञ्चार, ऊर्जा विकास र विस्तार, कृषि, पर्यटन, सेवा क्षेत्रको आधुनिकीकरण, सर्वसुलभ शिक्षा र स्वास्थ्य, स्वच्छ खानेपानी, स्वच्छ वातावरण, उद्योग र व्यापारको समुचित विकासमा सबैपक्ष एक भएर लाग्न उनले आग्रह गरिन ।

“यस प्रदेशलाई महत्वपूर्ण सुरुङमार्गमार्फत छोटो दूरीको पहुँच र एक जिल््ला एक विशिष्टिकरण उत्पादन, प्राविधिक शिक्षाको स्थापना र विस्तार, नयाँ शहरहरूको अध्ययन, निर्माण र विस्तार, जोखिममा रहेका बस्तीहरूको स्थानान्तरण, वैज्ञानिक भू–उपयोग नीति लागू गरी भूमिको व्यवस्थापन गर्न जरुरी रहेको छ” कोइरालाले सम्बोधनको क्रममा भनिन ।

“कानुनतः दलीय व्यवस्थाले सत्तापक्ष र प्रतिपक्षको भूमिकामा रहेपनि अबको लक्ष प्राप्तीका लागि विभाजित हुनुपर्ने कुनै अवस्था छैन,” उनले । प्रदेश नम्बर ३ लाई समतामुलक, समाजवाद उन्मुख, पूर्णलोकतान्त्रिक, एकतावद्ध, विकास र समृद्धि प्राप्तिको दिशामा समर्पित हुँदै अगाडि बढाउन जरुरी रहेको उनको भनाइ थियो ।

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प र त्यसपछिका पराकम्पबाट पीडित सिंगो प्रदेश अहिले पनि छानामूनी पुग्न नसकेको यथार्थता बोल्दै कोइरालालले सबैलाई छानामुनी लैजान सरकारले उच्च प्राथमिकताको साथ काम गर्नुपर्ने उनको भनाइ थियो । सरकारले दिने राहत पनि करिब ३० प्रतिशतसम्मले आंशिक मात्रामा लिन सकेको भन्दै सबैलाई राहत दिन पनि उनले प्रदेश सरकारलाई आग्रह गरिन ।

कोइरालाले अन्तरप्रदेश सम्बन्ध, विकासमा सार्वजनिक, निजी र सहकारी क्षेत्रबीचको साझेदारी, असल कामका अनुभव आदान–प्रदान, विकास र समृद्धिमा सकारात्मक प्रतिस्पर्धा जस्ता विषय विकास यात्राका साधन बन्नुपर्ने बताइन । “अशान्ति, दमन, भ्रष्टाचार, उत्पीडन र कुनै पनि प्रकारका विभेदको अन्त्य यो प्रदेशको परिचय बनोस भन्ने विश्वास राख्दछुु,” उनले भनिन्, “प्रदेश सभा, सरकार र यसका अंगहरूबीच प्रदेशका समस्या र चुनौतीको सम्बोधन तथा सम्भावना र अवसरहरूको सदुपयोग गर्ने कार्यमा आपसीे तालमेल मिलाउदैं अगाडि बढ्न सक्नुपर्छ ।”

बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सदस्यहरूको मर्यादाक्रम प्रतिनिधि र राष्ट्रिय सभापछि हुने भनी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयसहितको पत्र पढेर सुनाएका थिए । प्रदेशसभा बैठक वैशाख १३ गते ११ः०० बजेसम्मका लागि स्थगित भएको छ ।


प्रकाशित | २०७५ बैशाख १२ प्रकाशित ०८:४५

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ