बाबुनानीहरुलाई मोबाइलको धेरै प्रयोग गर्न नदिउँ

१२ बैशाख २०७५, बुधबार ०६:५८

वैशाख १२, काठमाडौं

के हजुरहरुले आफ्ना बाबुनानीहरुलाई मोबाइलको धेर प्रयोग गर्ने अवसर दिनुभएको त छैन ?


मोबाइलको धेरै प्रयोगले गर्दा साना बाबुनानीहरुको आँखामा विस्तारै असर परिरहेको हुन्छ । मोबाइलमा रमाउने बाबुनानीहरुको आँखा सुख्खा हुने, दीर्घकालमा आँखामा एलर्जी हुने तथा आँखा चिलाउने समस्या देखापर्न सक्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गतको बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका नेत्ररोग विशेषज्ञ वसन्त पौडेलका अनुसार स–साना बाबुनानीहरुको आँखाको रोगको एउटा कारण मोबाइल पनि हुने गरेको बताउनुभएको छ ।

पौडेलका अनुसार नयाँ बिरामी २०० तथा पुरानो बिरामी २०० गरी दैनिक ४०० भन्दा बढी आँखाका रोगीको उपचार सेवा दिँदै आएको त्यस केन्द्रमा विशेष गरी मोतियाबिन्दु, आँखाको पर्दा च्यातिएको समस्या भएका आँखा रोगी, सुगर तथा प्रेसरका कारण उत्पन्न हुने आँखा रोगी, उपचारका लागि धेरै बिरामीहरु आउने गरेको केन्द्रले बताएको छ ।

विशेषज्ञ डा. पौडेलले भन्नुभयो– गर्मी मौसम पनि शुरु भइसकेकाले आँखाका बिरामी विशेष गरी सतर्क हुनुपर्छ । यो समयमा स–साना बालबालिकालाई आँखा रातो हुने तथा आँखा पाक्ने समस्या उत्पन्न हुन्छ ।

शरिरको महत्वपूर्ण र संवेदनशील अंग आँखा भएकाले हरेक व्यक्तिले कम्तीमा छ महिनामा एकपटक आँखाको जाँच गराउनुपर्छ र सन्तुलित भोजन विशेष गरी सागपात बढी सेवन गर्नुपर्ने सुझाव दिनुभएको छ ।

त्यस्तैगरी, स–साना बालबालिकाले अक्षर पढ्दा अति नजिक राखेर पढ्ने बानी गर्न नहुने, डिमलाइट तथा वाइडलाइटमा पुस्तक पढ्ने गर्नाले पनि आँखामा समस्या देखापर्ने उहाँले बताउनुभयो ।

आँखा जँचाउन केन्द्रमा आउनुभएका रामेछापका सुरेश घिमिरेले आँखाको ज्योति नै मेरो सम्पत्ति भएकाले हरेक वर्ष आफैँले आँखा जाँच गराउँदै आएको बताउनुभयो । कामको सिलसिलामा कम्प्युटर, ल्यापटप तथा मोबाइलको प्रयोगले आँखा अलि कति कमजोर भएको अनुभूति आफूलाई लागेको कुरा बताउनुभएको छ ।