पूर्वशिक्षामन्त्रीको विदेश भ्रमण खर्च एक करोड

९ बैशाख २०७५, आईतवार ०९:३५

वैशाख ९, काठमाडौं
शेरवहादुर देउवाले नेतृत्व गरेको अघिल्लो सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको विदेश भम्रणको क्रममा एक करोड रुपैयाँ खर्च भएको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनमा तत्कालिन शिक्षामन्त्री श्रेष्ठ, शिक्षा सचिवलगायत १० जनाले अस्टे«लिया र १९ जनाले हङकङ भ्रमण गर्दा ९९ लाख ६३ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।

महालेखाले विदेश भ्रमणबाट पदाधिकारी तथा कर्मचारीले प्राप्त गरेको ज्ञान, सीप, अनुभवको उपलब्धि सम्बन्धमा भ्रमण प्रतिवेदनको मूल्यांकन नगर्ने गरेको पाइएको छ ।

भ्रमण खर्च नियमावली, २०६४ को नियम १४ मा कुनै पदाधिकारी वा कर्मचारीलाई सरकारी कामको सिलसिलामा विदेश भ्रमण पठाउँदा खर्च व्यर्होने स्रोत र नेपाल सरकारको स्रोतबाट पठाइने भएमा उसले पाउने सुविधाबारेमा खुलाउनुपर्ने व्यवस्था छ ।

शिक्षा मन्त्रालयबाट एक सय ८९ पदाधिकारी र कर्मचारीले दुई सय तीन पटक विभिन्न २३ मुलुकको भ्रमण गरेको पाइएको छ । महालेखालाई मन्त्रालयले बुझाएको विवरणमा खर्च व्यर्होने स्रोत र खर्च रकम खुलाइएको छैन ।
(स्रोतः नागरिक दैनिक)