धुर्मुस-सुन्तली फाउन्डेसनले क्रिकेट रंगशाला गोदावरीमा बनाउने फाइनल

७ बैशाख २०७५, शुक्रबार १६:३१

वैशाख ७, काठमार्डौ ।

धुर्मुस-सुन्तली फाउन्डेसनले अन्ततः क्रिकेट रंगशाला निर्माणका लागि ललितपुरको गोदावरीमा रहेको जग्गा फाइनल गरेको छ ।

सबै हिसाबले सो जग्गा उपयुक्त देखिएको भन्दै फाउन्डेसनको प्राविधिक टोलीका तर्फबाट खेलकुद मन्त्रालयमा औपचारिक प्रस्तावना पेश गरिएको छ ।

प्राविधिक विशेषज्ञसहितको धुर्मुसको टिमले देशका विभिन्न स्थानहरुमा प्रस्तावित जग्गाको अवलोकन र सरोकारवाला पक्षसँग छलफल गरेर निर्णय लिएको हो । टिमले काठमाडौंको कीर्तिपुर, मूलपानी, चोभार तथा पोखरा, चितवन, भैरहवालगायतका स्थानहरुमा रहेका सरकारी जग्गाको स्थलगत अवलोकन गरेको थियो ।

गोदावरीस्थित १ सय २८ रोपनी जग्गा अहिलेसम्म हेरिएकामध्ये उत्कृष्ट रहेको धुर्मुसको प्राविधिक टिमले ठहर गरेको छ । मनोरम स्थानमा रहेको हुनाले पर्यटकीय दृष्टिकोणले समेत उपयुक्त हुने विश्लेषण गरिएको छ ।

यो जग्गा कृषि मन्त्रालयको मातहतमा रहेको बुझिएको छ । त्यहाँ पहिले मत्स्यपालन गरिएको पोखरी भूईंचालोपछि सुकेकाले प्रयोजनविहीन थियो ।

खेलकुद मन्त्रालयले धुर्मुस सुन्तली फाउन्डेसनलाई सो जग्गा उपलब्ध गराउन कृषि मन्त्रालयलाई पत्र लेख्नुपर्छ । जग्गा उपलब्ध गराउन कृषि मन्त्रालय सकारात्मक रहेको स्रोतले बतायो ।

धर्मुसको टिमले आफ्नो ३२ पेजको प्रस्तावना बिहीबार दिउँसो ४ बजे खेलकुद मन्त्रालयमा बुझाएको थियो । खेलकुद मन्त्री जगत विश्वकर्माले उक्त प्रस्तावना राति घरमा नै लगेर अध्ययन गरेका थिए । तर, शुक्रबार बजेटसम्वन्धि छलफल गर्नुपरेकाले प्रस्तावनामा छलफल गर्न नभ्याएको मन्त्री विश्वकर्माले बताए । भोलि शनिबार भएकाले अब आइतबार यसमा छलफल गरिने उनको भनाइ छ ।

सामाजिक क्षेत्रबाट खेलकुद पूर्वाधार निर्माणमा पहल हुनुलाई आफूले सकारात्मक भएको उनले बताए ।

रंगशालालाई विभिन्न इन्डोर गेमहरु पनि खेल्न सकिने गरी बहुउपयोगी बनाइने छ । रंगशाला करिब ४० हजार सिट क्षमताको हुनेछ ।

फाउन्डेसनले जग्गा प्राप्तिपछि रंगशाला शिलान्यास भएको डेढदेखि दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ ।