त्रिभुवन विश्वविद्यालयका प्राध्यापकले बेचे प्रश्नपत्र १० लाख रुपैयाँमा

९ बैशाख २०७५, आईतवार १२:२५

वैशाख ९, काठमाडौं ।

२०७२ चैतमा विभिन्न विषयमा उपप्राधापक पदका लागि सञ्चालन गरेको परीक्षामा भएको अनियमितताका सम्बन्धमा त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कागजात फेला पारेको छ । २३ पुस २०७३ मा समाचार सम्प्रेषण गरी त्रिवि सेवा आयोगको परीक्षामा अनियमितता भएको विषय प्रकाशमा ल्याएको थियो ।

त्रिवि सेवा आयोगले विज्ञापन नम्बर ७-२०७२-०७३ र ८-२०७२-०७३ अन्तर्गत विभिन्न विषयका उपप्राध्यापकको पदपूर्ति गर्न दरखास्त आह्वान गरी ०७३ चैतमा परीक्षा सञ्चालन गरेको थियो । तर नतिजा प्रकाशनको चरणमा आइपुग्दासम्म परीक्षामा व्यापक अनियमितता भएको प्रमाण फेला पारेको छ ।

खास गरेर विज्ञान तथा मानविकी समूहको गणित विषयका परीक्षामा व्यापक अनियमितता भएको देखिएको छ ।

परीक्षामा चरम अनियमितता भएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानवीनबाट त्रिवि सेवा आयोगले सञ्चालन गरेको गणित विषयमा परीक्षामा व्यापक अनियमितता भएको देखिन्छ ।

त्रिविको परीक्षामा भएको अनियमितताका विषयमा सतर्कता केन्द्रले ०७३ मंसिर २२ गतेदेखि ३० गतेसम्म अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो ।

केन्द्रले त्रिविको परीक्षामा व्यापक अनियमितता भएको प्रमाण तयार गरी थप अध्ययन र कारवाहीका लागि उक्त प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको थियो ।

दुई प्राध्यापकको प्रत्यक्ष संलग्नता

त्रिवि सेवा आयोगले सञ्चालन गरेको गणित विषयको परीक्षामा भएको अनियमिततामा गणित विषकै दुईजना प्राध्यापकको संलग्नता देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गणित विषयका प्रध्यापक रामविश्वास प्रसाद साह र चेतराज भट्टले अनियमितता गरेको निष्कर्श निकालेको छ ।

आयोगले अनियमिततामा दुईजना प्रशिक्षार्थी अमरनाथ साह र प्रमोद कुमार गोइत पनि संलग्न रहेको ठहर गरेको छ । आयोगले ४ जनाविरुद्ध २१ वैशाख २०७४ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अहिले विशेष अदालतमा बिचाराधीन अवस्थामा छ ।

(स्रोत : लोकान्तर)