जनताको साझा सम्पति पार्टी एकता : दाहाल

१३ बैशाख २०७५, बिहीबार १०:०९

वैशाख १३, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पति भएको बताएका छन् । उनले भने ‘अहिले सिंगो देशले एकता चाहेको छ, हामीले सम्मानित, न्यायोचित र समानताका आधारमा एकता गर्न सक्छौं कि सक्दैनौं भन्ने चुनौतिको विषय पनि रहेको छ ।’

अध्यक्ष दाहालले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने कुरा बताए ।

पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै अध्यक्ष दाहालले भने, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६/७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष दाहालको भनाई थियो ।

अध्यक्ष दाहालले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरेका छन् । अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो ।