कार्यक्रममा पहिरनको चिन्ताले जानै झ्याउ लाग्छ : बर्षा राउत

१३ बैशाख २०७५, बिहीबार ०९:१८

वैशाख १३, काठमाडौं ।

सेलिब्रिटी हुनुका पनि धेरै दुख छन् । एउटा दुख हो ‘ड्रेस अप’ । विशेषगरी नायिकाहरुका लागि सार्वजनिक कार्यक्रमको ड्रेसअप एउटा टाउको दुखाइको विषय बन्ने गरेको पाइन्छ ।

नायिका वर्षा राउतसँग ‘पहिरन संवाद’ गर्ने क्रममा उनले पहिरनको चिन्ताले सार्वजनिक कार्यक्रममा जान कम गरेको बताइन् । हुन पनि सार्वजनिक कार्यक्रममा नायिकाहरु कसले कस्तो पहिरन लगाएर आउँछन्, त्यसलाई दर्जनौं क्यामराले पछ्याइरहेका हुन्छन् र मिडियाले त्यसैमा टेकेर गसिप बनाउँछन् । कुनै नायिकाको पहिरन कमजोर भयो भने ट्रोलको शिकार हुनुपर्छ । त्यसमा पनि एउटै ड्रेस फरक फरक कार्यक्रममा लगाएको पाइयो भने त झन् सक्किगो ।

नायिका वर्षा भन्छिन् ‘बोलाएजति कार्यक्रममा जान नसक्नुको एउटा कारण पहिरनको समस्या पनि हो ’ ।

उनी महिनैपिच्छे लुगामा पैसा खर्च गर्छिन् । तर, पनि पुग्दैन ।

‘कुनै कुनै कार्यक्रममा ड्रेसअप स्पोन्सर गरिएको हुन्छ, नत्र आफैंले म्यानेज गर्नुपर्छ । कतिवटा कार्यक्रमका लागि फरक फरक ड्रेसअप म्यानेज गर्ने भन्नुन । हाम्रो कमाईको ठूलो अंश पहिरनमै सकिन्छ,’ नायिकाले वर्णन गरिन् । लुगामा ठ्याक्कै कति खर्च हुन्छ भन्ने चाहिँ उनले खुलाउन चाहिनन् ।

त्यसो त वर्षा आफूलाई धेरै फेसनेबल ठान्दिनन् । आफूलाई सुहाउने र कम्फरटेबल लुगा भए पुग्न उनलाई । तर, फङ्सनहरुमा त अलिकति ग्ल्यामरस देखिनै पर्‍यो । त्यसैले उनी विशेषगरी फिल्मी कार्यक्रमहरुमा जाँदा लामो वान पिस र कहिलेकाहीँ साडी पनि लगाउँछिन् ।

वर्षा भन्छिन् ‘साडी राम्ररी लगाउन त जान्दिनँ, तैपनि कामचलाउ लगाउँछु, ‘घरमा हुँदा चाहिँ मामुले हेल्प गर्नुहुन्छ ।’

वर्षा आफू साडी र कुर्तासुरुवालमा बढि खुलेको अनुभव गर्छिन् । जिन्स पनि लगाउँछिन्, तर, अली मोटी भएकीले त्यति कम्फरटेबल लाग्दैन उनलाई ।

वर्षा आफूलाई चाहिने लुगा प्राय आफैं किन्छिन् । उनलाई प्रेमी सन्जोगले पनि प्रशस्त लुगा किनिदिने गरेका छन् । संजोगले आफ्नो च्वाइस बुझ्ने गरेको वर्षाले बताइन् ।

तपाईंले अहिलेसम्म किनेको महंगो लुगा कुन हो भन्ने प्रश्नमा वर्षाले करिब ५ वर्ष अगाडि २५ हजार रुपैयाँमा एउटा लेहेंगा किनेको बताइन् । काठमाडौकै एउटा बुटिकमा उनले यो लहेंगा किनेकी थिइन् ।

नेपाली सेलिब्रिटीमा वर्षालाई प्रियंका कार्कीको ड्रेस सेन्स मन पर्छ ।

उनले भनिन्, ‘प्रियंका दिदीले कतिपय ठाउँमा बोल्ड ड्रेस पनि लगाउनुहुन्छ, तर त्यसलाई कन्फिडेन्टली क्यारी गर्नुहुन्छ ।’

त्यसो त प्रियंका बेलाबखत वार्डरोव मालफङ्सनको शिकार पनि हुने गरेकी छिन् । तर, वर्षाको चाहिँ यस्तो अनुभव छैन ।

वर्षाले भनिन् ‘म यसमा निकै सतर्क हुन्छु नी ’ ।

वर्षाले नियमित लुगा किन्ने ठाउँ दरबारमार्ग र सिभिल मल हो । कुर्ता सुरुवाल भने उनी पिस कपडा किनेर सिलाउन दिन्छिन् । आफूलाई डार्क कलरको लुगा सुहाउने उनको महसुस गरेकी छिन् ।

विभिन्न देशको भ्रमण गरेकी वर्षाले त्यहाँ लुगा किन्न छुटाउँदिनन् । उनले अष्ट्रेलिया, दुबई मलेसिया लगायतका देशमा लुगा किनेकी छिन् । आफूलाई मात्र नभएर त्यहाँबाट उनले परिवारका सदस्यलाई पनि लुगा ल्याइदिन्छिन् ।

भित्री वस्त्र किन्न कत्तिको लाज लाग्छ भन्ने प्रश्नमा वर्षाले जवाफ दिइन्, ‘म प्राय महिला भएको पसलमा किन्छु । तर, पुरुष भएको पसलमा किन्न पनि लाज लाग्दैन । सबैले लगाउने कुरा किन्न केको लाज ?’

वर्षा बेलाबखत फुटपाथमा पनि लुगा किन्न हिच्किचाउँदिनन् । मन परिहाल्यो भने ‘सेल’का लुगा पनि उठाउँछिन ।

(स्रोत : अनलाइन खबर)