अनुसन्धान विभागमा प्रचण्डकै चासो

१६ बैशाख २०७५, आईतवार ०५:५१

बैशाख १६, काठमाडौं ।

गोप्य सूचना तथा जानकारी संकलन गर्ने निकाय राष्ट्रिय अनुसन्धान विभाग कुन मन्त्रालयमातहत राख्ने सत्तारुढ दल एमाले (माओवादीभित्रै विवाद देखिएको छ ।

माओवादी अनुसन्धान विभागमा पार्टीका रामबहादुर थापाले नेतृत्व गर्दै आएको गृह मन्त्रालयबाट झिकेर प्रधानमन्त्री कार्यालयअन्तर्गत राखेकामा प्रधानमन्त्रीसँग प्रत्यक्ष/अप्रत्यक्ष असन्तुष्टि राख्दै आएको थियो । तर, शनिबार भने प्रधानमन्त्री केपी ओली, गृहमन्त्री थापासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहसचिव प्रेमकुमार राईबीचको छलफलमा माओवादीले अनुसन्धानलाई गृह मातहत नै फर्काउन प्रधानमन्त्रीसँग आग्रह गरेको छ ।

गृह स्रोतका अनुसार अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत राख्दा गृह कमजोर बन्ने र देशको सुरक्षा स्थितिको सूचना गृहमै नहुने अवस्था आएको भन्दै गृहमन्त्री थापाले प्रधानमन्त्रीसँग निर्णय सच्याउन आग्रह गरेका थिए । १४ फाल्गुनमा प्रधानमन्त्रीले माओवादीका मन्त्री सहभागी गराई सरकार विस्तार गर्दा माओवादीबाट थापा गृहमन्त्री नियुक्त भएका थिए ।

थापा गृहमन्त्री भएको दुई दिनपछि बसेको मन्त्रिपरिषद् बैठकमा अनुसन्धान प्रधानमन्त्रीमातहत राख्ने निर्णय भएको जानकारी गराइएको थियो । त्यसबेला पनि गृहमन्त्री थापाले पर्याप्त छलफल हुनुपर्ने भन्दै असन्तुष्टि पोखेका थिए । गृह र अनुसन्धानसँग समेत पर्याप्त छलफल नगरी अनुसन्धान प्रधानमन्त्री कार्यालय मातहत लैजाने निर्णय गरिएकामा थापाको असन्तुष्टि थियो ।