चीन र जापान ट्रम्पले आयात शुल्क लगाएपछि रिसाए

२५ फाल्गुन २०७४, शुक्रबार ०७:३६

फागुन २५, काठमाडौं ।एजेन्सी

अमेरिकाले फलाम र एल्युमिनियम उत्पादनमा आयात शुल्क लगाउने भएपछि चीन र जापानले विरोध गरेका छन् । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यो फैसला लिन लाग्दा चीनले यसबाट अन्तर्राष्ट्रिय बजारलाई नोक्सानी पुग्ने बताएको छ भने जापानले यस फैसलाका लागि ट्रम्पले पछुताउनुपर्ने भनेको छ ।

चीनले बयान जारी गर्दै अमेरिकाको यस फैसलाबाट मज्जाले चलिरहेको अन्तर्राष्ट्रिय व्यापारलाई हानि पुग्ने भनेको छ ।

अनि जापानले चाहिँ यस निर्णयबाट दुई देशबीचको सम्बन्धमा तिक्तता आउने बताएको छ । जापानका विदेशमन्त्री टारो कोनोले यस फैसलाका कारण अमेरिका र ट्रम्पले पछुताउने स्थिति आउने बताए ।

ट्रम्पले आगामी १५ दिनमा स्टील र एल्युमिनियम उत्पादनमा आयात शुल्क लाग्ने बताए । क्यानडा र मेक्सिकोलाई मात्र यस निर्णयबाट छुट दिइएको छ । जुन देशले अमेरिकी व्यापारलाई खतरा नहुने ग्यारेन्टी दिन्छन् उनीहरूलाई पनि छुट दिइने बताए ।

अमेरिकाको यस निर्णयका पछाडि चीन नै ठूलो कारण रहेको मानिएको छ । विगत केही समययता स्टील र एल्युमिनियम उत्पादनको भोलुम बढाएको छ । यसले गर्दा बजारमा माल धेरै भएर अमेरिकालाई नोक्सान भयो ।

यसैले गर्दा अमेरिकाको बजार ठप्प भएको र उसले उत्पादन घटाएर धेरै मानिसलाई जागिरबाट निकाल्नुपरेको थियो ।