चैत ८, काठमाडौं ।
लालीगुराँस गाउँ भनेर चिनिने कास्कीको माछापुच्छ्रे गाउँपालिका-७ धम्पुसमा वैशाखको पहिलो हप्ता ‘गन्तव्य धम्पुस लालीगुराँस महोत्सव २०७५’ हुने भएको छ ।
लालीगुराँस युवा क्लबको आयोजनामा वैशाख ४ गतेदेखि ८ गतेसम्म स्थानीय पृथ्वीनारायण मावि परिसरमा महोत्सव हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गन्तव्य धम्पुस बनाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक लालीगुराँस युवा क्लवका अध्यक्ष आसिम गुरुङले बताए ।
महोत्सवमा कृषि तथा हस्तकला प्रदर्शनी, झाँकी प्रतियोगिता, खुल्ला लोकदोहोरी प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायतका कार्यक्रम हुने उनले बताए ।
आयोजकका अनुसार महोत्सवमा पुरुष तथा महिला भलिवल प्रतियोगिता पनि हुनेछ ।
भलिवल प्रतियोगितामा प्रथम हुने पुरुष टिमलाई एक लाख र महिलातर्फ प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष गुरुङले जानकारी दिए ।
२०५४ सालदेखि हुँदै आएको महोत्सव २०६७ देखि स्थगित भएको थियो । तर यस वर्षदेखि निरन्तरता दिन लागेको हो ।
लालीगुराँस महोत्सव धम्पुसको पहिचान भएको र यसले पर्यटन प्रवर्द्धनमा सघाउने भएकाले पुनः शुरु गर्न लागिएको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष समबहादुर गुरुङले बताए ।
उनका अनुसार महोत्सवका लागि वडा कार्यालयले ५ लाख सहयोग गर्नेछ ।
महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।
महोत्सवको एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।