सुनसरीमा वन फँडानी रोकिएन

७ चैत्र २०७४, बुधबार ०९:०८

चैत ७, काठमाडौं ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा मोरङमा जथाभावी वनका रुखहरू काटिन थालेपछि प्रदेश १ का मुख्यमन्त्रीको निर्देशनले रोकिए पनि सुनसरीमा भने अझै वन फँडानी रोकिएको छैन । यो कुराको पुष्टि जिल्ला वन कार्यालय सुनसरीका प्रमुख राजेन्द्र निरौलाले नै गरेका छन् ।

‘गत वर्षमै स्वीकृत भएको वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत हामीले फायर ल्याण्ड बनाउने कार्यक्रम धरानको चक्ला वनमा सुरु गरेका छौँ’, जिल्ला वन कार्यालयका प्रमुख निरौलाले भने, ‘यो प्रयोजनका लागि ४० लाख बजेटसमेत विनियोजन भएको छ । यसमा अहिलेसम्म आधा बजेट मात्रै सकिएको छ ।’


जिल्ला वन कार्यालयका प्रमुख निरौला अघिल्लो वर्षमै स्वीकृत कार्यक्रम भएकाले कार्यक्रम नरोकिने बताउँछन् ।

फायर ल्याण्ड भनेको वनमा डढेलो लाग्दाखेरि थप वन विनास नहोस् भन्दै वनका रुखहरू कटान गरेर राएिको खाली स्थान भएको निरौलाले बताए । फायर ल्याण्ड बनाउने कार्यक्रम अन्तरर्गत ९ देखि १२ फिटको जंगल क्षेत्रका बोटबिरुवाहरू मासिने निरौलाले बताए ।

सुनसरीका ६४ वटा सामुदायिक वन, ४ वटा धार्मिक वन र केही चक्ला वनहरूमा पनि यस्तै कार्यक्रमहरू हुँदै आएको वन अधिकृत निरौलाले बताए ।

जिल्ला वन कार्यालयका प्रमुख निरौलाले रुखहरू काट्नैपर्ने बाध्यता रहेको बताए ।

सुनसरीको वन क्षेत्र ३३ सय ७३ हेक्टरमा फैलिएको वन कार्यालयको तथ्यांक छ ।