श्रीमान तीन वर्षदेखि कतारमा, श्रीमतीको शव गहुँ बारीमा कुहिएको अवस्थामा फेला

२३ फाल्गुन २०७४, बुधबार ०८:४३

फागुन २३, काठमाडौं ।

सिरहाको अर्नामा गाउँपालिका-३ हरकट्टामा एक महिलाको शव फेला परेको छ ।

स्थानीय हरिदेव यादवककी ३५ वर्षीय श्रीमती चन्द्रकला यादवको शव गाउँ नजिकै छेदी महतोको गहुँ बारीमा कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत १८ गते घाँस काट्न गएकी चन्द्रकला फर्किएकी थिइनन् । खेत हेर्न जाँदा गन्धआएपछि उनको शव देखी स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

हराएको भोलिपल्टै उनको १३ वर्षीय छोराले आमा हराएको भन्दै प्रहरीमा निवेदन समेत दर्ता गराएका थिए । प्रहरी र आफन्तले खोजी कार्यगरिरहेकै बेला बुधबार विहान उनको शव फेला परेको हो ।

चन्द्रकलाका एक छोरी र २ छोरा छन् । श्रीमान वैदेशिक रोजगारीको क्रममा तीन वर्षदेखि कतारमा छन् ।

शवको कुहिएको हुँदा घटनाकोे विषयमा अहिले नै केही भन्न नसकिने प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहा लगिएको छ ।