वैदेशिक रोजगारीमा ५८ करोड ठगियो , ७ महिनामा ६२८ जना दलालविरुद्ध ठगीको उजुरी

२५ फाल्गुन २०७४, शुक्रबार ०८:३६

फागुन २५, काठमाडौं ।

वैदेशिक रोजगार विभागमा पछिल्लो ७ महिनामा परेका उजुरीहरुको सूची हेर्दा त्यहाँ ६२८ जना दलालविरुद्ध ठगीको उजुरी परेको देखिन्छ । यो तथ्यांकले नेपालमा युवाहरुको बिक्री गरेर ठगीधन्दा चलाउनेहरुको गुणात्मक वृद्धिलाई स्पष्ट पार्छ ।

वैदेशिक रोजगार विभागमा पछिल्लो सात महिनाको अवधिमा ५८ करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ । विभागमा ठगीका १२१४ वटा उजुरी दर्ता हुँदा पीडित युवाले आफूसँग ५७ करोड ९४ लाख रुपैयाँ ठगिएको दाबी गरेका छन्


चालु आर्थिक वर्षको माघ महिनासम्म विदेश पठाउने नाममा ठगी गर्ने ६२८ जना दलालविरुद्ध विभागमा उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

उनीहरुसँग पीडित कामदारले ४२ करोड ३८ लाख रुपैयाँ बिगो असुल उपर गरिदिन विभागसँग पीडितले माग गरेका छन् ।

त्यसैगरी, माघ महिनासम्म विभिन्न म्यानपावर कम्पनीविरुद्ध ५८६ वटा उजुरी विभागमा परेका छन् । पीडित युवाले म्यानपावरसँग १५ करोड ५५ लाख रुपैयाँ उठाइदिन माग गर्दै उजुरी दिएका अधिकारीले जानकारी दिए ।

कुल ५७ करोड रुपैयाँ बिगोमध्ये विभागले कामदारलाई १३ करोड ६६ लाख रुपैयाँ रकम फिर्ता गरएको छ । दलालहरुले ठगेको १० करोड २६ लाख रुपैयाँ कामदारले फिर्ता पाएका छन् भने म्यानपावरले ३ करोड ३९ लाख रुपैयाँ मात्रै फिर्ता दिएका छन् ।

विभागले ७ महिनामा ७१२ वटा उजुरी आपसी सहमतिमा रकम लेनदेन गराएर फरफारक गरेको छ । विभागले यसबीचमा म्यानपावरविरुद्धको एउटै मुद्धा वैदेशिक रोजगार न्यायधीकरणमा दर्ता गरेको छैन भने दलालहरुविरुद्ध भने १४३ वटा मुद्दा दर्ता भएका छन् ।

विभागले ठगी गर्ने म्यानपावरविरुद्ध एउटै मुद्धा न्यायधिकरणमा लैजाने गरेको छैन ।

कामदारलाई १० हजारको बिल थमाएर लाखौं ठगी गर्दै आएका म्यानपावरविरुद्ध मुद्दा लड्न अहिले कामदारलाई प्रमाणको अभाव हुने गरेको छ ।

  • किन कारवाही हुँदैन ?

तथ्यांकलाई आधार मान्दा विदेश पठाउने नाममा ठगी भएका अधिकांश उजुरीहरु विभागमै पीडितको ठगिएको रकममध्ये केही अंश दिलाएर मिलाइन्छ । ठग्नेहरुलाई कुनै कारवाही नै गरिँदैन । ठेगेपछि उजुरी परेहाले पनि थोरै कम दिएपछि विभागले नै कुरा मिलाइदिने गरेको छ ।

विभागबाट ठगी गर्नेमाथि कुनै कानुनी कारवाही पनि नहुने भएपछि दलाल तथा म्यानपावरलाई पनि ठगी गर्न थप अग्रसर हुने गरेको श्रम तथा रोजगार मन्त्रालयकै अधिकारीहरु स्वीकार्छन् ।

फरार रहेका दलालहरुविरुद्ध भने मुद्धा न्यायधीकरणमा पुगेको देखिन्छ ।

गत आर्थिक वर्ष ०७३/७४मा पनि म्यानपावरले ठगी गरेको भन्दै एउटा पनि मुद्धा विभागले अदालत लगेको थिएन ।

बिगत तीनवर्षदेखि विभागले ठगी गर्ने म्यानपावरविद्ध एउटा पनि मुद्धा न्यायाधीकरणमा दर्ता गरेको छैन । त्यसअघि पनि निकै कम मात्रामा यस्ता कसुरका म्यानपावरविरुद्ध मुद्धा दायर भएका थिए ।

सरकारले वैदेशिक रोजगारीमा काकदारलाई रोजगादाताले नै निःशुल्क भिसा र टिकेटको नीति लिएको छ । तर, म्यानपावर ब्यवसायीले यसलाई पालना नगरिदिँदा ठगीको समस्या झनै मौलाएको छ ।

गत आर्थिक वर्षमा पनि विभागमा २ हजार ३ सय ८३ वटा उजुरी दर्ता भएका थिए । पीडितले ७५ करोड ७८ लाख बिगो दावी गरेपनि विभागले १५ करोड ९४ लाख रुपैयाँ मात्रै फिर्ता गराएको थियो ।

यो वर्षको अन्तसम्म ठगीको यो गत वर्षभन्दा बढी हुने निश्चित रहेको विभागका अधिकारी बताउँछन् ।