विमान दुर्घट्नको समग्र समाचार (ब्रेकिङ् न्युज), ‘घाइतेहरुको उपचार सरकारले गर्ने’

२८ फाल्गुन २०७४, सोमबार ११:५१

फागुन २८, काठमाडौं ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।

प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’

त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

  • मृत्यु हुनेको संख्या ४९ पुग्यो, २१ घाइते, एक जना बेपत्ता

यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको प्रहरीले पुष्टि गरेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना भेटिएका छैनन् ।

घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

 

  • नेपाली यात्रुमध्ये धेरैजसो ट्राभल एजेन्सीका कर्मचारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ ।

उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।

उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए ।

यसैगरी योङ ट्राभलमा कार्यरत कर्मचारी सजना देवकोटाको पनि निधन भएको बताइको छ ।

  • दुर्घटनास्थल पुगे प्रधानमन्त्री, घाइतेहरुको उपचार सरकारले गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएका छन् । उनीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र रक्षामन्त्री ईश्वर पोखरेल पनि थिए ।

प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गरे । घाइतेहरुको उपचार सरकारले गर्ने बताए ।
उनले घटनाबारे छानविन गर्न सरकारले आयोग गठन गर्ने जानकारी दिए ।

घटनापछि आफूले बंगलादेशका प्रधानमन्त्रीसँग कुरा गर्ने प्रयास गरेको तर, सम्भव नभएको उनले सुनाए ।