वर्ल्ड कप क्वालिफायर : नेपाल vs अफगानिस्तान (प्रिभ्यु)

२६ फाल्गुन २०७४, शनिबार ०६:२७

काठमाडौं : जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायरमा लगातार ३ खेल हारेपछि टेष्ट मान्यता प्राप्त राष्ट्र अफगानिस्तान लगातार दोस्रो पटक वर्ल्ड कप खेल्ने योजनाबाट लगभग बाहिरिसकेको छ। यता पहिलो पटक वान डे मान्यता प्राप्त गर्ने लक्ष्यका साथ जिम्बावे पुगेको नेपालले पनि लगातार दुई खेल हारिसकेको छ।

दुवै टिमका लागि सन् २०१९ को वर्ल्ड कपको ढोका लगभग बन्द भइसकेको छ। अब दुवैको नजर सुपर सिक्सतर्फ छ र टेष्ट मान्यता पाइसकेको अफगानिस्तानको लागि वर्ल्डकप पुग्न नसकेमा सुपर सिक्सबाट बाहिरिए पनि केही फरक पर्ने छैन। तर, नेपालका लागि भने वान डे मान्यता पाउन सुपर सिक्स पुग्नुपर्ने बाध्यताको समिकरण बन्दैछ।

यही सम्भावना र चुनौतीका बीच नेपालले शनिवार अफगानिस्तानसँग खेल्दैछ। नेपाल र अफगानिस्तान एक आपसमा परिचित प्रतिस्पर्धी हुन्। तर, सन् २०१४ यता नेपाल र अफगानिस्तान बीच खेल भएको छैन। २०१४ मा मलेसियामा भएको एसीसी प्रिमियर लिगमा अफगानिस्तानले नेपाललाई हराएको थियो।

क्वालिफायरको समूह बी मा रहेका अफगानिस्तान र नेपाल दुवै अंक विहीन छन्। नेपाल पहिलो खेलमा जिम्बावे तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो। उता पहिलो खेलमा स्कटल्याण्डसँग हारेको अफगानिस्तान त्यसपछि घरेलु टोली जिम्बावेसँग र हङकङसँग पनि पराजित भयो।

नेपालले अब सुपर सिक्समा स्थान बनाउन अफगानिस्तान र हङकङ दुवैलाई पराजित गर्नुपर्ने बाध्यता छ। त्यसैले पनि अफगानिस्तान विरुद्धको खेल नेपालको लागि ‘गर या मर’को अवस्थामा छ।

क्वालिफायरमा दुवै समूहबाट शीर्ष ३ स्थान हात पार्ने टोली सुपर सिक्समा पुग्नेछन् र त्यसबाट शीर्ष दुई टोली फाइनल पुग्दै वर्ल्डकपका लागि छनोट हुनेछन्।

नेपालले सन् २००४ मा अफगानिस्तानलाई पहिलो भेटमा पराजित गरे पनि त्यसयता भने जित हात पार्न सकेको छैन।

अहिलेसम्म नेपाल र अफगानिस्तानबीच ७ खेल हुँदा अफगानिस्तान ६ खेलमा विजयी भएको छ।

नेपालले पछिल्लो पटक सन २०१४ मा बंगलादेशमा भएको टी-२० वर्ल्डकपमा अफगानिस्तानलाई पराजित गरेको थियो।

नेपालका कप्तान पारस खड्काले स्कटल्याण्डको खेलपछि अझै सुपर सिक्स पुग्ने सम्भावना कायम रहेको र त्यसका लागि बाँकी दुई खेल जित्नुपर्ने बताएका छन्।

‘हाम्रो लागि सुपर सिक्स अझै खुल्ला छ। हामीले बाँकी रहेको दुई खेल जित्यौँ भने हाम्रो सम्भावना कायम छ,’ पारसले भने, ‘हामीले एक पटकमा एक खेलको बारेमा मात्र सोच्नुपर्छ। अब अफगानिस्तान सँग खेल्दैछौँ। अफगानिस्तानको लागि यो टुर्नामेन्ट रफ भइरहेको छ। दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ र हामी हाम्रोतर्फबाट बेस्ट दिने प्रयास गर्नेछौँ।’

नेपाल भर्सेस अफगानिस्तान (हेड टु हेड)

खेल – ७

अफगानिस्तान विजयी – ६

नेपाल विजयी – १

 

२००४ एसीसी ट्रफी पाँचौ स्थान प्लेअफ

नेपाल १४७ (४८.२ ओभर)  अफगानिस्तान १०० (४१.२ ओभर)

नेपाल ४७ रनले विजयी

२००६ एसीसी ट्रफी तेस्रो स्थान प्लेअफ फाइनल

अफगानिस्तान २७०/८ ५० ओभर  नेपाल ११५/ ३७.४ ओभर

अफगानिस्तान डिएलमा ६४ रनले विजयी

 

२००८ आइसी डब्लुसिएल डिभिजन ५ सेमिफाइनल

अफगानिस्तान १४२ -४९.३ ओभर नेपाल १०५ -४५.५ ओभर

अफगानिस्तान ३७ रनले विजयी

 

२००८ एसीसी ट्रफी इलाइट तेस्रो स्थान

नेपाल २१०/८ ५० ओभर  नेपाल २१३/७ ४८.२ ओभर

अफगानिस्तान ३ विकेटले विजयी

 

२०१० एसीसी ट्रफी इलाइट फाइनल

अफगानिस्तान २२४ -५० ओभर नेपाल १२९ -४० ओभर

अफगानिस्तान ९५ रनले विजयी

 

२०१३ एसीसी इएमर्जिङ कप

अफगानिस्तान १६९/९ -५० ओभर नेपाल १५७ -४५.३ अफगानिस्तान डिएलमा ३ रनले विजयी

 

२०१४ एसीसी प्रिमियर लिग

नेपाल १२८/९ -३२ ओभर अफगानिस्तान २६२ -४९.३ ओभर

अफगानिस्तान डिएलमा १०८ रनले विजयी