बुटवलको राष्ट्रिय वाणिज्य बैंकको जग्गा विप्लवको कब्जामा

२० फाल्गुन २०७४, आईतवार १०:०६

फाल्गुन २० -बुटवल । .नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुटवलमा रहेको राष्ट्रिय वाणिज्य बैंकको जग्गा कब्जा गरेको छ।

बुटवलमा रातो घरको नामले परिचित भवनको स्वामित्व राष्ट्रिय वाणिज्य बैंक खस्यौली शाखाको नाममा रहे पनि विप्लवको पार्टीले आफ्नो नियन्त्रणमा राखेको हो।

पार्टीका रुपन्देही इन्चार्ज शरद वलीले आफूहरुले आधा जमिन माग दाब गरेको स्वीकारे। अन्य पार्टी र विभिन्न संघसंस्थाले सरकारी जग्गामा सरकारी बजेट प्रयोग गरेर कार्यालय सञ्चालन गरेकोले आफूहरुले पनि सो भवन र जग्गाको आधा माग दाबी गरेको उनले बताए।

‘सबै पार्टीहरूले सहिद स्मृति पार्क, सहिद स्मृति भवन लगायत विभिन्न नाममा सरकारी सम्पत्ति कब्जा गरेका छन्। हामीले प्रक्रिया पुर्याएर निर्णय गरेर दिन आग्रह गरेका छौं,’ वलीले भने। उनले आधा जग्गा दिए आधा छोडिदिने भन्दै राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयलाई पत्राचार समेत गरेको बताए।

राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालले भने भवन खाली गराई सहयोग गरिदिन आग्रह गर्दै करिब २ महिनाअघि जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई पत्राचार गरेको छ। उक्त पत्रबारे रुपन्देही प्रशासन मौन छ।

अहिले प्रदेश सरकारका विभिन्न मन्त्रालय कार्यालय र विभाग बनाउन नियमित सञ्चालनमा रहेका सरकारी कार्यालय खाली गराई मन्त्रालय राख्न थालिएको अवस्थामा भवनबारे भने कसैको चासो देखिएको छैन।

११ कट्ठा क्षेत्रफल भएको जग्गामा बम बिस्फोटबाट क्षतिग्रस्त भएको दुईतल्ले भवन अलपत्र छ।