बलिउड अभिनेता इरफान खानलाई दुर्लभ किसिमको क्यान्सर

२३ फाल्गुन २०७४, बुधबार ०८:३६

काठमाडौं । बलिउड तथा हलिउडमा समेत थुप्रै फिल्म खेलिसकेका चर्चित भारतीय अभिनेता इरफान खान एक प्रकारको दुर्लभ मस्तिष्क क्यान्सरको सिकार भएको बताइएको छ । उनी आफैंले ट्विटरमार्फत् केही दिनअगाडि यसबारे जानकारी दिएका थिए । अहिले भने उनी मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएको बताइएको छ ।

उनलाई ‘गिब्लोब्लास्टोमा मल्टिफ्रोम’ नामक अत्यन्तै खतरनाक किसिमको क्यान्सर लागेको खबर बाहिर आएको हो । हालै सार्वजनिक भएको खबरअनुसार इरफानको शरीरका विभिन्न भागमा लगातार समस्या आइरहँदा उनको बोलीमा समेत प्रभाव पर्न थालेपछि उनलाई तुरुन्तै कोकिलाबेन अस्पतालमा उपचारका लागि लगिएको थियो ।

मिलेनियम पोस्ट नामक भारतीय अनलाइनका अनुसार उनलाई लागेको क्यान्सरलाई चिकित्सकहरुले ‘डेथ अन डाइग्नोसिस’ पनि भन्ने गरेका छन् किनकि यसको पूर्ण उपचार अहिलेसम्म पत्ता नलागेको बताइएको छ । यसलाई अत्यन्तै दुर्लभ र खतरनाक क्यान्सर बताइएको छ । एमआरआई गराइसकेपछि मात्र उनलाई यो रोग लागेको पुष्टि भएको हो । त्यस्तै, उनको ट्युमर पनि निकै तिव्र रुपमा बढिरहेको रिपोर्टमा देखिएपछि चिकित्सकहरुले उनलाई तुरुन्तै शल्यक्रिया गराउन सुझाव दिइरहेको बताइएको छ । तर, उनले भने रेडिएसन र केमो थेरापीबाट नै उपचार गराउन जोड दिइरहेको बताइएको छ ।

हलिउडमा समेत आफ्नो कला प्रस्तुत गरिसकेका ५१ वर्षीय इरफानले ‘लाइफ अफ पाइ’, ‘स्लम डग मिलेनिएर’, ‘द एमेजिङ स्पाइडर म्यान’ र ‘ज्युर्यासिक वर्ड’ जस्ता चर्चित अङ्ग्रेजी फिल्ममा अभिनय गरेका छन् । गत ५ मार्चमा उनले आफ्नो रोगबारे ट्वीट गरेपछि उनका लाखौँ फ्यान चिन्तित बनेका छन् । ट्विटरमा उनले आफ्नो जीवनका पछिल्ला १५ दिन अहिलेसम्मकै रहस्यमय भएको र आफूले एक अत्यन्तै दुर्लभ रोग पत्ता लगाएको बताएका थिए । तरपनि साथीभाइलगायत परिवारको साथ भएकाले उनले फ्यानहरुलाई चिन्ता नगर्न आग्रह गरेका छन् ।

आफूले जीवनमा कहिल्यै हार नमानेको भन्दै उनले सबैलाई भरोसा दिलाएका छन् । यसका साथै एक हप्ताभित्रै सबै सत्य आफैँले बाहिर ल्याउने बताउँदै उनले कसैलाई पनि गलत खबर नफैलाउन अनुरोध गरेका छन् ।