प्रदेशसभा ५ को बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरे

४ चैत्र २०७४, आईतवार १२:००

चैत ४, काठमाडौं ।

प्रदेशसभा ५ को बैठकले आर्थिक कार्यविधि विधेयक पारित गरेको छ ।

आइतबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आर्थिक कार्यविधि विधेयक प्रस्तुत गरेका थिए । विधेयकमाथि कांग्रेसका डिल्लीप्रसाद चौधरी र एमालेका विष्णुप्रसाद पन्थीले धारणा राखेका थिए ।

आर्थिक विधेयक पारित भएपछि प्रदेश सरकारलाई आर्थिक कारोबार गर्न र केन्द्र सरकारले दिएको बजेट लिन बैंक खाता खोल्ने बाटो खुलेको छ ।

प्रदेश ५ सरकारलाई संघीय सरकारले यो चालु आर्थिक वर्षमा १ अर्ब २ करोड बजेट उपलब्ध गराएको छ । तर संसद्बाट आर्थिक कार्यविधि पास नहुँदासम्म सरकारले खर्च गर्न पाएको थिएन ।

आइतबार नै प्रदेशसभाको बैठकले प्रदेशसभा सञ्चालन नियमावली पनि पारित गरेको छ ।

बैठकमा मस्यौदा समितिका सभापति हरिप्रसाद रिजालले नियमावलीको मस्यौदा प्रस्तुत गरेका थिए ।

मस्यौदामाथि नेपाली कांग्रेसका अष्टभूजा पाठक, एमालेका भोजप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका तुलाराम घर्ती, संघीय समाजवादी फोरमका सन्तोष पाण्डेले सुझाव सहित विचार राखेपछि नियमावली बहुमतले पारित भएको हो ।

प्रदेशसभाको अर्काे बैठक चैत्र ८ गते १ बजे बस्ने कार्यतालिका छ ।