पाकिस्तानी विदेशमन्त्रीको मुखमा दलियो मोसो

२८ फाल्गुन २०७४, सोमबार ११:१८

फागुन २८, काठमाडौं । एजेन्सी

पाकिस्तानको पञ्जाब प्रान्तमा शनिवार राति पार्टी कार्यकर्ताहरूको सम्मेलनमा सम्बोधन गर्ने क्रममा पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफको अनुहारमा एक धार्मिक उग्रवादीले कालो मोसो दलिदिए ।

आसिफको दलले पैगम्बर मोहम्मदलाई इस्लामको अन्तिम दूत भएको मान्यतालाई संविधानमार्फत बदल्ने प्रयास गरेका आफूहरूको भावनामा चोट पुगेको भन्दै उनले मोसो दलेका थिए ।

पार्टी कार्यकर्ताहरूले घटनापछि आरोपितलाई कुटपिट गरेर प्रहरीलाई बुझाएका थिए । आसिफले गृहनगर सियालकोटमा पीएमएल–एनका कार्यकर्ताहरूको सम्मेलनलाई सम्बोधन गरेका थिए ।

त्यतिखेर उनको छेउमा बसेका एक लामो दाह्री भएका व्यक्तिले कालो मोसो दलिदिए । घटनापछि विदेशमन्त्रीका सुरक्षाकर्मीहरूले उनलाई बाहिर लगे ।

अनुहार धोएपछि आसिफले भाषण गरे ।

आसिफले भने, ‘म यो व्यक्तिलाई चिन्दिनँ । मेरा विरोधीहरूले ममाथि कालो मोसो दल्नका लागि केही पैसा दिएका हुन सक्छन् । तर म यसलाई माफ गर्छु र प्रहरीले उसलाई छोडिदेओस् भन्छु । थुन्दाखेरी बेकारमा उसप्रति मानिसको सहानुभूति बढ्छ ।’

सियालकोट प्रहरीले उक्त व्यक्ति फैज रसूल भएको बताएको छ । प्रहरीका एक अधिकारीले रसूलको बयानका आधारमा भने, ‘रसूल कुनै राजनीतिक दलसित साइनो राख्दैन । विदेशमन्त्रीको पार्टीले पैगम्बर मोहम्मदको अपमान गरेका पाकिस्तानीहरूको भावनामा चोट पुगेका कारण उसले यो कदम उठाएको बतायो ।’

मन्त्रीले उजुरी गर्न नचाहेकाले प्रहरीले कानूनी औपचारिकता पूरा गरेपछि रसूललाई छोड्ने भएको छ ।