पाकिस्तानसँग सम्बन्ध बढाउँदै रुस, के छ रहस्य ?

२४ फाल्गुन २०७४, बिहीबार ०९:४७

फागुन २४, काठमाडौं । एजेन्सी

पाकिस्तानमा अमेरिकाको प्रभाव कम हुनेबित्तिकै रुसले मित्रताको हात बढाएको छ । शीतयुद्धकालमा पाकिस्तानको शत्रु रहेको रुस अब उसका साथ सैन्य, कूटनीतिक तथा आर्थिक सम्बन्ध बढाइरहेको छ ।

रुसको यो कदमबाट मस्कोका ऊर्जा कम्पनीहरूका लागि ठूलो बजार तयार हुने भएको छ ।

अफगानिस्तानमा भइरहेको युद्धका कारण अमेरिका र उसका परम्परागत सहयोगी देशहरूका बीचको सम्बन्ध राम्रो नभइरहेको अवस्थामा रुस पाकिस्तानतर्फ बढेको छ । चीनले पनि पाकिस्तानलाई सहयोग गरिरहेको अवस्थामा भारत पूरै झस्किएको छ ।

रुसका तर्फबाट सैन्य तथा अन्य ऊर्जा सम्झौताका कारण पाकिस्तानसँग उसको पहिले चिसिएको सम्बन्धमा न्यानोपन छाएको छ ।

पाकिस्तानका रक्षामन्त्री खुर्रम दस्तगीरले समाचार संस्था रोयटर्सलाई बताए, ‘यो त आरम्भ मात्र हो । भविष्यको ढोका खोल्नका लागि दुवै देशले विगतका कुरा बिर्सेर मिलेर काम गर्नुपर्छ ।’

अघिल्लो महीना पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफ रुसको भ्रमणमा गएका थिए र दुवै देशले आतंकवादी संगठन आईएसआईएससँग लड्नका लागि सैन्य सहयोग गर्न सहमति गरे ।

रुस र पाकिस्तानले संयुक्त सैन्य अभ्यास गरेदेखि नै भारतको चिन्ता बढिरहेको छ । चीनसँग निकट सम्बन्ध भएको पाकिस्तानले रुससँग सम्बन्ध बढाउँदा भारतले असहज अनुभव गरिरहेको हो ।