पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि जुत्ता प्रहार

२८ फाल्गुन २०७४, सोमबार ११:०६

फागुन २८, काठमाडौं । एजेन्सी

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफमाथि एक व्यक्तिले जुत्ता प्रहार गरेका छन् । उक्त व्यक्ति जामिया नईमियाका पूर्व छात्र हुन् र उनी कथित रूपमा तहरीक–ए–लब्बैकका सदस्य पनि हुन् ।

शरीफले एक विद्यालयको कार्यक्रममा भाषण दिने क्रममा उनीमाथि जुत्ता प्रहार गरिएको थियो ।

जियो टीभीका अनुसार, नवाजले मञ्चमा चढेर मानिसहरूलाई सम्बोधन गर्न पुग्दा दर्शकदीर्घाबाट कसैले उनीमाथि जुत्ताप्रहार ग–यो । त्यो उनको छातीमा लाग्यो । तर नवाजले भीडलाई सम्बोधन गरिरहे ।

प्रहरीका अनुसार, आक्रमणकारीको नाम तलहा मुनव्वर हो र उनी त्यही विद्यालयका पूर्वछात्र हुन् । उनले जुत्ता हानेपछि भीडले उनमाथि आक्रमण ग–यो जसकारण उनलाई नजिकैको अस्पतालमा भर्ना गर्नुप–यो । यसबाहेक अन्य दुई व्यक्तिलाई पनि पक्राउ गरिएको प्रहरीले बतायो ।

शनिवार मात्र पाकिस्तानका विदेशमन्त्री ख्वाजा आसिफलाई एक कार्यक्रमका बेलामा कालोमोसो दलियो ।