नेपाल आज स्कटल्याण्डविरुद्ध मैदान उत्रँदै, ‘हेड टु हेड’मा स्कटल्याण्ड अघि

२४ फाल्गुन २०७४, बिहीबार ०६:२६

काठमाडौं । आईसीसी विश्वकप छनोट खेलमा नेपालले आज (बिहीबार) स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । सुपर सिक्समा पुग्ने लक्ष्य लिएको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाल र स्कटल्याण्डबीचको खेल बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको  मैदानमा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार १ः१५ मा सुरू हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

नेपालको तुलनामा स्कटल्याण्ड बलियो टोली हो । तर, नेपाल स्कटल्याण्डलाई हराउँदै सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्ने योजनाका साथ मैदान उत्रने छ । पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग पराजित नेपाल स्कटल्याण्डविरुद्ध पहिलो जितको खोजीमा समेत हुनेछ ।

आईसीसी डिभिजन टु को उपविजेता बन्दै विश्वकप छनोटमा पुगेको नेपाललाई स्कटल्याण्डमाथि जित निकाल्न कठिन भने देखिन्छ ।  किनकी आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट छनोट भएको स्कटल्याण्ड जारी प्रतियोगितामा निकै लयमा समेत रहेको छ ।

विश्वकप छनोटको समूह बी मा रहेको स्कटल्याण्डले लगातार दुई खेल जितिसकेको छ । समूह बि शीर्ष स्थानको स्कटल्याण्डले पहिलो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा हङकङमाथि ४ विकेटको जित निकाल्दै स्कटल्याण्डले दाबेदार प्रस्तुत गरिसकेको छ । नेपाल भने आफ्नो पहिलो खेलमा टेष्ट  राष्ट्र जिम्बावेसँग ११६ रनले पराजित भएको थियो । नेपाल समूह बिको पुछारमा रहेको छ ।

पछिल्लो समयको नतिजा हेर्ने हो भने नेपालभन्दा स्कटल्याण्ड निकै अब्बल रहदै आएको छ । इतिहास हेर्दा नेपाललाई निकै गार्हो देखिन्छ । स्कटल्याण्डसँग नेपालले ३ खेल खेलेको छ, जसमा सबै खेल स्कटल्याण्डले आफ्नो पक्षमा पारेको छ । यस्तो अवस्थामा स्कटल्याण्ड इतिहासलाई कायम राख्न चाहन्छ भने नेपाल पुरानो इतिहासलाई मेटाउने योजनामा हुनेछ ।

नेपालले सन् २०१४ को विश्वकप छनोटमा स्कटल्याण्डसँग पहिलो पटक खेलको थियो । जुन खेलमा स्कटल्याण्डले नेपाललाई ९० रनले हराएको थियो । यस्तै सन् २०१५ मा आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल स्कटल्याण्डसँग २ खेलमा हारेको थियो । च्याम्पियनसिप अन्तर्गत नेपाललाई स्कटल्याण्डले पहिलो खेलमा ३ रन तथा दोस्रो खेलमा ९ विकेटले हराएको थियो ।

नेपालले स्कटल्याण्डपछि अफगानिस्तान र हङकङसँग खेल्नेछ ।  नेपालले तेस्रो खेलमा अफगानिस्तानसंग मार्च १० र हङकङसँग मार्च १२ मा खेल्नेछ । पाँच राष्ट्र सम्मलित समूह बी को शीर्ष ३ टोलीले सुपर सिक्समा स्थान बनाउने छन् ।

नेपालको लागि यो महत्वपूर्ण प्रतियोगिता समेत हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले सन् २०१९ विश्वकप खेल्ने छ ।  यस्तै सुपर सिक्समा पुग्ने टोलीले एकदिवसीय अन्तर्रा्िष्ट्रय मान्यता पाउने छ । सुपर सिक्सभित्र पुग्न नेपालले कम्तिमा २ खेल जित्नै पर्ने हुन्छ