तिङ्लाबासीले निर्वाचन वहिष्कारको प्रतिफल के पाए ?

१८ फाल्गुन २०७४, शुक्रबार ०७:४८

फागुन १८, काठमाडौं ।

सरकारले सोलुखुम्बुको तिङ्ला गाविसलाई सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. ११ कायम गरेको छ ।

यो निर्णयसँगै पुनःसंरचनामा असहमति जनाउँदै ‘नो भोट नो क्याण्डिटेट’ अभियान चलाएका सोलुखुम्बुको तिङ्लाबासी खुसी भएका छन् ।


स्थानीय तह र संघीय तथा प्रदेश सभा निर्वाचन बहिस्कार गरेका उनीहरुको माग पूर्ववर्ती शेरबहादुर देउवा सरकारले गत माघ ११ गते सोलुखुम्बु दूधकुण्ड नगरपालिकामा गाभ्ने निर्णय गरेर सम्बोधन गरेको थियो ।

सरकारले निर्णय गरे पनि सीमांकन र वडा तोकिएको थिएन । गत सोमबार प्रकाशित राजपत्रमा वडासमेत निर्धारण गर्दै अन्तिम टुंगो लगाइएपछि तिंलाबासीको समस्या समाधान भएको हो ।

साबिक तिङ्ला गाविसलाई यसअघि नेचासल्यान गाउँपालिकाको ६ नं. वडा कायम गरिएको थियो ।

अब भने तिङ्ला सोलुखुम्बु दूधकुण्ड नगरपालिकाको वडा ११ कायम गरिएको छ ।

नयाँ सीमांकनबाट ढिलै भए पनि सरकारले उचित न्याय दिएको अनुभूति भएको संघर्ष समितिका ललितबहादुर कार्कीले बताए ।

संघर्ष समिति बनाएरै सदरमुकाम नजिक रहेको गाउँलाई भोटको राजनीति गरेर सल्यानमा गाभिएको विरोधमा तिंलाबासीले नगरपालिकामा समावेश गर्न माग गर्दै आएका थिए ।