चीनको सहयोगमा सशस्त्र प्रहरीको तालिम केन्द्र बन्यो

५ चैत्र २०७४, सोमबार १२:०७

चैत ५, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगतबारे पश्चाताप गर्ने नभई वर्तमान र भविष्यलाई हेरेर देश निर्माणका लागि काम गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको मातातीर्थमा सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको सोमबार उद्घाटन गर्दै उनले भने ‘हिजो भनाभन गरेका थियौं, झगडा गरेका थियौं भनेर त्यतातिर र्फकने समय होइन यो, अब सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ ।’

जनताले विकास निर्माण, उत्पादन, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता क्षेत्रमा परिवर्तन चाहेको भन्दै प्रधानमन्त्री ओलीले जनताको सपना पूरा गर्न सबै एक हुनुपर्ने बताए ।

‘हाम्रा बाटाहरु चिल्ला हुन् । खेत बाँझा नहुन् । खेतमा धान र गहुँका बाला झुलुन् । विद्यालयमा पढाइ चलोस् भन्ने सबैको चाहना छ’ उनले भने ‘यसका लागि हामी सबै एकताबद्ध भएर लाग्नु पर्छ । जनताको यो सपना पूरा हुन्छ ।’

प्रधानमन्त्री ओलीले शसस्त्र प्रहरी बलले स्थापनाको छोटो समयमा नै समाजमा शान्ती सुरक्षा स्थापनामा निर्वाह गरेको भूमिकाको प्रशंशा गरे ।

तालिम केन्द्र निर्माणका लागि चीन सरकारको ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गरेको थियो । ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि २४ महिना नै निर्माण सम्पन्न गरी चाइना रेल्वे कन्स्टकक्सन कम्पनीले भवन हस्तान्तरण गरेकोमा प्रधानमन्त्री ओलीले प्रशंशा गरे ।