“गीत चोर्ने म कि अल्मोडा ?” : निर्माता सुवास गिरी, शम्भुले २१ लाखबाट आफ्नो डिमान्ड सुरु गरे

१५ चैत्र २०७४, बिहीबार ०८:५४

चैत १५, काठमाडौं ।

युवा पुस्ताका लोकप्रिय संगीतकर्मी हुन् अल्मोडा । तर, उनी गीत चोरीका लागि बदनाम छन् ।

हालै गीत चोरीको विवादमा ‘कृ’ फिल्मका निर्माता सुवास गिरीले सजाय भोग्नुपरेको छ । उनले प्रहरी हिरासतमा एक रात बिताउनुपर्‍यो भने ११ लाख रुपैयाँ सर्लक्क शम्भू प्रधानलाई बुझाउनुपर्‍यो ।

तर, चोरी गर्ने मुख्य पात्र अल्मोडाले भने प्रहरीमा गएर बयानसम्म दिनु परेन । आफूले संगीत भरेको गीतमाथि यत्रो बबन्डर भइरहँदा अल्मोडा दृष्यमै छैनन् ।


अल्मोडाले यसअघि छक्का पञ्जा २ को ‘नाइलनको साडीमा’ बोलको गीतमा पनि यस्तै फट्याई गरेका थिए । त्यतिबेला पनि उनी सजायको भागिदार बनेनन् ।

यतिबेला निर्माता गिरीले आफू अन्यायमा परेको महसुस गरिरहेका छन् । हिरासतबाट निस्केपछि कुरा गर्दै उनले भने, ‘मैले यो गीत नराखौं भनेर बारम्बार भनेको थिएँ, तर अल्मोडा र भुवनदाईले मान्नुभएन ।’

गिरीका अनुसार गीतको दुईवटा भर्सन बनाइएको थियो । एउटा भर्सनमा पुरानो उकालीमा अघिअघि प्रयोग गरिएको र अर्कोमा नगरिएको । भुवन केसीले गीतको कपिराइटका विषयमा आफूले शम्भू प्रधानसँग कुरा गर्ने बताएपछि पहलिो भर्सन फिल्ममा प्रयोग गरिएको सुवास बताउँछन् । तर, भुवनले शम्भुसँगै कुरै गरेनछन् ।

भुवन पनि कृका एक लगानीकर्ता हुन् । तर चलचित्र विकास बोर्डमा फिल्म दर्ता गर्दा निर्मातामा सुवासकोमात्र नाम उल्लेख रहेछ । त्यसैले भुवन सजिलै उम्के ।

त्यसिो त यो गीतलाई फिल्मको प्रचारमा प्रयोग गरिएको पनि थिएन । फिल्म रिलिज भएको एक हप्तापछि मात्रै यूट्यूवमा राखिएको थियो । तर यूट्यूवमा हालिएलगत्तै शम्भुले देखे र प्रहरीमा पुगे ।

शम्भुले संगीतकार अल्मोडालाई नछोइकन निर्माताविरुद्ध मात्र उजुरी गरे । प्रहरीले पनि संगीतकारको बयान लिनु आवश्यक सम्भिmएन । यो कुरा गिरीलाई चित्त बुझेको छैन ।

‘चोर्नेले धेरै सजाय पाउने कि चोरेको वस्तु किन्नेले ?’ गिरीको प्रश्न छ ।

आफूले अग्रज मानेका शम्भु प्रधानले पैसाको लालचमा परेर आफूलाई थुनाएको गिरी बताउँछन् ।

‘उहाँले मलाई एक रात भए पनि थुनाउन सकेमा पैसा असुल गर्न सकिन्छ भन्ने मानसिकताले काम गर्नुभयो र प्रहरी यसमा प्रयोग भयो ।’

मंगलबार दिउसो तीन बजेतिर छलफलका लागि भनेर हल्लिँदै टेकु पुगेका गिरीलाई प्रहरीले त्यहीँ झ्यापझुप समात्यो । आइजीपीको आदेश छ भन्दै आफूलाई समातिएको गिरी बताउँछन् ।

बुधबारको छलफलका क्रममा शम्भुले २१ लाखबाट आफ्नो डिमान्ड सुरु गरेका थिए । अन्तिममा ११ लाखमा सहमत भए । यो पैसामा आकस्मिक लाभ कर काटिने भएपछि उनले यसमा पनि किचकिच गरेका थिए । तर, प्रहरी र अन्य कलाकर्मीहरुको दवावपछि सहमतिमा आए ।

गिरीले शम्भु प्रधानले आफ्नो फिल्म कम्पनीको कुनै कागजात नदेखाइकन पनि पैसा असुल्न सफल भएको बताए ।

‘कम्पनीका नाममा चेक काटिएको छ, जबकि उहाँले आफ्नो प्रोडक्सन कम्पनीको कुनै कागजपत्र देखाउन सक्नुभएको छैन,’ गिरीले भने, ‘प्रहरी प्रष्टरुपमा उहाँसँग मिलेको छ ।’

‘जिन्दगीमा कहिल्यै कुनै अपराधमा नमुछिएको मलाई शम्भुदाईले जेल पुर्‍याउनुभयो, आज मेरो आत्मसम्मान गिरेको छ,’ गिरीले भने ।

त्यसो त उनी गीतको विषयमा मुद्दा लड्न नै मानसिकरुपमा तयार भएर बसेका थिए । तर, हिरासतमा बस्नुपर्ने अवस्था आएपछि निर्णय बदलेका थिए ।